काठमाडौं । नेपालमा गैरकानूनी काम गरेको भन्दै पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा उनीहरुलाई चीन लगिएको हो ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतले अभद्र व्यवहारमा प्रतिव्यक्ति एक हजार जरिवाना गरेर छोडिदिएको थियो । उनीहरुको जरिवाना नेपालस्थित चिनियाँ दूतावासले तिरिदिएको थियो भने वेइजिङबाट हवाइजहाज ल्याएर स्वदेश फर्काएको हो ।
उनीहरुलाई लिन दुई वटा चिनियाँ चार्टड विमान नेपाल आएका थिए । ४० चिनियाँलाई भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको थियो भने दोस्रो लटमा प्रहरीकै भ्यानमा राखेर विमानस्थल पुर्याइएको थियो ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज, सोह्रखुट्टे सिंहदरबार र महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।
प्रहरीले वरामद गरेका उनीहरुका १०२ राहदानी चीनले रद्द गरेको छ । १२२ जना पक्राउ परे पनि ३० जनाको मात्रै राहदानी फेला परेको थियो । चीनले अपराधीको सूचिमा राख्ने भने पनि उनीहरुको जरिवाना तिरिदिने लगायतको नरम व्यवहार देखाएको हुँदा आशंका पैदा भएको छ ।
नेपालको अध्यागमन ऐनको दफा १० को सजाय सम्वन्धी व्यवस्था लागू गरेर अध्यागमनले कारवाही प्रक्रिया अगाडि बढाएको थियो । नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त रुपमा मनमैजु, बाँसवारी, वुढानिलकण्ठ लगायतका ठाउँबाट चिनियाँहरुलाई पक्राउ गरेको थियो । उनीहरुका गतिविधि शंकास्पद रहेपनि यथार्थ के हो भन्ने खुलेको छैन । उनीहरुलाई स्वदेशमै लगेर चीनले अनुसन्धान गर्ने बताइएको छ ।



















