काठमाडौं । अवैध रूपमा नेपाल प्रवेश गर्न लागेको अवस्थामा एक तिब्बती र ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भुटानी नागरिक १९ वर्षीय छन्दु लहामो, ५६ वर्षीय डोल्मा तमाङ, ४३ वर्षीय छोदेन तामाङ, ७० वर्षीय ज्ञान बहादुर तामाङ र एक जना तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमो रहेका छन् ।
नेपाल भारत मैत्री सेवाको बसमा सवार ४० जना यात्रु मध्ये उनीहरु ५ जना बिना राहदानी नेपाल छिर्न लागेको बेला वीरगञ्ज १६ शंकराचार्य गेटमा चेकजाँच गर्नेक्रममा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिएका छन् ।
अवैध रुपमा नेपाल छिर्न लागेको बेला पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागि अध्यागमन कार्यालय वीरगञ्जमा बुझाइएको खत्रीले बताएका छन् ।