भरतपुर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारी अस्पतालबाट नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालको निरीक्षणपश्चात् उहाँले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै नागरिकले अस्पताल आएपछि सर्वसुलभरुपमा उपचार पाउनुपर्छ, नागरिकले राज्यको अनुभूति पाउनेगरी काम गर्नुहोस् ।” उहाँले सेवा र व्यवस्थापकीय पक्षमा ध्यान दिन चिकित्सक तथा कर्मचारीलाई आग्रह गर्नुभयो । “ऐन नियमले असहजता भए, संस्थागतरुपमा आउनुहोस्, तर त्यो जनताका पक्षमा हुनुपर्छ”, उहाँले भन्नुभयो ।
अस्पताल सुधारका लागि चिकित्सक, स्वास्थ्यकर्मी र सबै कर्मचारी खटिनुपर्नेमा उहाँले जोड दिनुभयो । राज्यमन्त्री रावतले अस्पतालको सुधारका लागि प्राथमिकताका आधारमा योजना बनाएर अघि बढ्न आग्रह गर्दै बजेटेको अभाव नहुने बताउनुभयो । क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्य र भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले अस्पतालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।