काठमाडौं । गृहमन्त्री रामबहादुर थापा चीन प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा ६ दिने चीन भ्रमणका लागि उनी आज बिहान बेइजिङ प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा गृहमन्त्री थापाले चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । मन्त्री थापाको टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमणसमेत गर्ने बताइएको छ ।
गृहमन्त्री थापाको टोलीमा उनका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी रहेको बताइएको छ ।
चीनले नेपालको अन्तरिक सुरक्षामा समेत चासो राख्दै चीन विरोधी गतिविधि गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने दवाव दिइरहेका बेला भएको गृहमन्त्रीको चीन भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।



















