काठमाडौं, । नेपालको कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । नाइजेरियन तथा भारतीय नागरिकसँग मिलेर कृषि विकाससहित विभिन्न बैंकहरु ह्याक गरेर एक करोड रुपैयाँ लुटेका दीपक नेपाल पक्राउ परेको प्रहरीले जनाइएको छ ।
मोरङको रङ्गेलीका दीपक विगत केही समयदेखि भारतमा बस्दै आएका थिए । उनले नेपालको कृषि बिकास बैंक ह्याक गरी एक करोड रुपैयाँजति लुटपाट गरेको बताइएको छ ।
खोजी सूचीमा रहेका दीपकलाई महानगरीय अपराध महाशाखाले शुक्रवार काठमाडौंबाटै पक्राउ गरेको हो ।
कृषि विकास बैंकको गोल्फुटार शाखामा ९ लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् ।
दीपकसहितका व्यक्तिको समूहले नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएका थिए । महाशाखाको टोलीले दीपकसहितको समूहका सदस्यहरुलाई यसअघि नै पक्राउ गरिसकेको छ ।
प्रहरीले गत असोज पहिलो हप्तामा कृषि विकास बैंक ह्याकिङ गर्ने १२ जनालाई पक्राउ गरेको थियो । यस्तै, गत मंसिर २५ गते पनि प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।