काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा प्रमुख रहेका प्रहरी उपरीक्षक ‘एसपी’ दानबहादुर मल्ललाई पुस ४ गतेको निर्णयानुसार महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो । तर, एसपी मल्लले अझै चितवन छाडेका छैनन् । एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त अझै हाजिर हुन पाएकी छैनन् ।
मल्ल अटेर गरेर बसिरहेपछि प्रदेश प्रहरी कार्यालय हेटौंडाले १२ घण्टाभित्र चितवनबाट रमाना लिएर सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो ।
प्रदेश प्रहरी कार्यालयले बुधवार साँझ लिखित पत्रमार्फत त्यहाँ कार्यरत डिएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरवन्दीमा रमाना गरी सोको जानकारी दिन भनेको छ । प्रदेश प्रहरी कार्यालयको पत्रअनुसार एसपी मल्लले आजै त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्नेछ ।