काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले साढे चार अर्ब पुँजीगत लाभकरमध्येको बक्यौता ठूला करदाता कार्यालयलाई मंगलबार बुझाएको छ ।
कार्यालयका एक निर्देशकका अनुसार एनसेलले बक्यौता रकम मध्ये ४ अर्ब ५० करोड रकम एभरेष्ट बैंकमार्फत बुझाएको हो। उक्त रकम बुझाएसँगै अब एनसेलले १७ अर्ब ९४ करोड बुझाउन बाँकी छ ।
सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको थियो ।
गत मंसिर २० मै कार्यालयले उक्त रकम निर्धारणपछि तिर्नको लागि १५ दिनको समय दिएको थियो तर एनसेलले उक्त म्याद गुजारेपछि पुस ६ गते पुनः १५ दिने म्यादसहितको पत्र एनसेललार्र्इ पठाएको थियो ।
गत भदौमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले गत मंसिर ५ गते एनसेलसँग २१ अर्ब १० करोड रुपैयाँ कर असुली गर्नुपर्ने फैसला सुनाएको थियो ।
कार्यालयले गत वैशाख यताको ब्याजसमेत जोडेर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।
आयकर ऐनको प्रक्रियाअनुसार बक्यौता एकीन गरी ठूला करदाता कार्यालयले ताकेता गरेको हो। दुई पटकसम्म समयसीमा दिनुपर्ने कानुनी व्यवस्थाअनुसार पुनः १५ दिनको समय दिइएको थियो।
यो समयसीमा समेत नाघेमा कानुनअनुसार कारबाही हुने भएकाले एनसेलले बक्यौता बुझाउन सुरू गरेको हो।