काठमाडौँ, नेपाल चेम्बर अफ कमर्सले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आज चेम्बर भवन कान्तिपथमा प्रवद्र्धनात्मक सन्देशसहितको भ्रमण वर्षको लोगो अनावरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाइको भ्रमण वर्ष २०२० को लोगोसहितको आकृतिको अनावरण गर्नुभएको हो ।
उहाँले यस्ता प्रवद्र्धनात्मक कार्यको प्रचारप्रसार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्सले गरेकोले अन्य संस्थामा यस कार्यबाट प्रेरणा मिल्ने बताउनुभयो । भ्रमण वर्ष कार्यक्रमका संयोजक सुरज वैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रवद्र्धनात्मक कार्यले भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले काठमाडौँमा भ्रमणवर्ष २०२० को लोगोसहितको प्रवद्र्धनात्मक सामग्रीको प्रचारप्रसार गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पर्यटन प्रवद्र्धनात्ममा सक्रियता जनाउने दृढता व्यक्त गर्नुभयो ।
भ्रमण वर्षलाई सघाउने प्रतिबद्धता
नेपाल आदिवासी जनजाति महासङ्घ र महाङ्घमा आवद्ध संस्थाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सक्रिय सहभागी हुने प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विभिन्न संस्थाका प्रतिनिसँग आज सिंहदरबारमा गर्नुभएको छलफलमा उनीहरुले भ्रमण वर्षलाई सफल बनाउने प्रतिबद्धता जनाएका हुन् ।
सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) दशरथ रङ्गशालमा हुने समुद्घाटन कार्यक्रममा जातीय पहिचानसहित सहभागी हुने र वर्षभरी हुने कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउने उनीहरुले बताएका छन् । कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन सहकार्य, सहभागिता र सहयोगको आह्वान गर्नुभयो । आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बारमले भ्रमण वर्षलाई सफल बनाउन आदिवासी जनजाति महासङ्घ र महासङ्घमा आवद्ध संस्थाको सक्रिय सहभागिता रहने बताउनुभयो ।
उहाँले नेपालको पर्यटनको प्रमुख आधार प्रकृति र संस्कृति भएको बताउँदै आदिवासी जनजातिको संस्कृति नै नेपालको पहिचान र गर्व भएको उल्लेख गर्नुभयो । आदिवासी जानजाति महासङ्घलगायत संस्थासँग समन्वय गरेर जानकारीमूलक क्यालेण्डर प्रकाशन गरिने मन्त्री भट्टराईको भनाइ थियो ।