म्याग्दी, बेनी अस्पतालमा आइतबारदेखि बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली शुरु भएको छ ।
लाइनमा बस्नुपर्ने झण्झटको अन्त्य गर्दै सेवालाई प्रभावकारी बनाउन सो प्रणाली शुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । “आफ्नो पालोमा टिकट लिएर चिकित्सकसम्म पुगी उपचार गराउन यसले सजिलो बनाएको छ”, उहाँले भन्नुभयो । लाइनमा ठेलमठेल गरेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्यले उपचारका लागिसमेत सहज भएको ६० वर्षीय यामबहादुर पुनले बताउनुभयो ।
यो प्रणालीको शुरुआतबाट विगतमा लाइनमा बस्दा भीडभाड हुने तथा बिरामीलाई उपचारमा समस्या हुने, घचेटाघचेट हुने लाइनमा पालो मिचेर अगाडि जाने र इमरजेन्सीका नाममा आफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अमृत अधिकारीले बताउनुभयो ।
अस्पतालले निकट भविश्यमै मिर्गौला रोगीका लागि डायलासिस सेवा शुरु गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो ।
रासस