काठमाडौं । गायक रामकृष्ण ढकाल र उनीकी पत्नी निलम शाह ढकालको सम्बन्ध–बिच्छेद (डिभोर्स) भएको छ ।
ढकालपत्नी निलमले मंगलबार अदालतमा छोडपत्रका लागि निवेदन दिएकी थिइन् । बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेदको निर्णय सुनाएको जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।
केही समय अघिदेखि ढकाल दाम्पती सम्बन्ध विच्छेदको निर्णयमा पुगेका थिए । सँगै रहन नसक्ने भएपछि मंगलबार सम्बन्ध विच्छेदका लागि उनीहरुले सहमतिमै अदालतमा निवेदन दिएको बताइएको छ ।
श्रीमतीले अंश नलिने, छोरी आमाको जिम्मामा रहने र बाबुलाई बेलाबेलामा भेटन दिने शर्तमा सम्बन्ध विच्छेद भएको बताइएको छ ।
मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ ।
४५ वर्षीय ढकालले निलमसँग १७ वर्षअघि अर्थात २०५९ सालमा प्रेम बिबाह गरेका थिए । उदाहरणीय रुपमा हेरिएको जोडीको एकाएक सम्बन्धबिच्छेद हुनुलाई आश्चर्यको रुपमा समेत हेरिएको छ ।