पर्सा । बीरगंज महानगरपालिका १५ लक्ष्मणवा ब्रहमचोकमा नक्कली घ्यू उत्पादन गर्ने कारखाना फेला परेको छ ।
अनिल श्रेष्ठले संचालन गरेको सिद्धिबिनायक पूजा सामाग्री प्रोडक्टस उद्योगमा रसायन मिसावट गरी पूजा, दुर्गा र गोकुल शुद्द घ्यूको स्टिकर लगाई नक्कली घ्यु उत्पादन तथा बिक्री बितरण गरिरहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली घ्यू उत्पादन तथा बिक्री बितरण गरेको अभियोगमा आइतबार तीन जनालाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो । प्रहरीले ३३ वर्षीय अनिल श्रेष्ठ, ३७ वर्षीय रमेश श्रेष्ठ र भारत विहार मोतिहारीका २५ वर्षीय राम विलास यादवलाई पक्राउ गरेको हो ।
उक्त उद्योगबाट प्रहरीले पुजा, दुर्गा र गोकुल नाम गरेको व्राण्डको ५२ कार्टुन घ्यु, डाल्टा घ्यू २९ कार्टुन तथा सो बनाउन प्रयोग हुने रसायन र भाँडाकुँडा र लेवलिङ गर्न प्रयोग हुने बिभिन्न ब्राण्डको स्टिकरहरु समेत बरामद गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।