भक्तपुर । भक्तपुर एम्बुलेन्स चालक संघको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा मध्यपुर हस्पिटलमा कार्यरत सानुकाजी श्रेष्ठ चुनिएका छन् । अधिवेशनले ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नागरिक कम्युनिटी हस्पिटलमा कार्यरत चालक कृष्णप्रसाद पराजुली, सचिवमा इवामुरा अस्पतालका सीताराम खिउँजू, सहसचिजमा चाँगुनारायण स्वास्थ्य चौकीका उत्सव केसी र कोषाध्यक्षमा सिद्धिस्मृति महिला तथा बाल अस्पतालका सुनिल याण्डो चुनिएका छन्।
नयाँ चुनिएको कार्य समितिको अरु सदस्यहरुमा क्रमः भक्तपुर क्यान्सर अस्पतालका मधुकर प्रतापजंग राणा, अखण्ड सेवा समितिका राकेश राजचल, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपाण केन्द्रका केशव प्रजापति र काठमाडौं क्यान्सर अस्पतालका प्रकाश गजुरेल रहेका छन् ।
संघको नयाँ कार्यसमितिले एम्बुलेन्सले प्रदान गर्ने कुनै पनि सेवामा सम्झौता नगर्ने र आएका समस्यालाई तत्कालै समाधान गर्ने पनि प्रतिवद्धता जनाएको छ । संघका सचिव सीताराम खिउँजूले काठमाडौंमा बिरामी लग्दा जामको समस्या भोग्न बाध्य भएको बताउँदै सो समस्या समाधानका लागि संघले पहल गर्ने पनि बताए ।
संघमा हाल विभिन्न अस्पताल, स्थानीय निकाय, संघसंस्थाले सञ्चालन गरेका २८ संस्थाका ७३ जना चालकहरु आवद्ध छन् ।
चालकहरुले भक्तपुर जिल्लामौ अहिले पनि कतिपय एम्बुलेन्स प्रदायक संघसंस्थाका पदाधिकारीहरु र अस्पतालका चिकित्सकहरुले बिरामीको लागि प्रयोग गरिने एम्बुलेन्समा सधैं आफू आउने र जाने गर्न पाउनुपर्ने व्यवहार गर्ने गरेको पनि गुनासो गरे ।
साधारण सभाको उद्घाटन पूर्व ट्राफिक इन्स्पेक्टर सीताराम हाछेथुले गरेका थिए । कार्यक्रममा उनले एम्बुलेन्स चालक र अरु सवारीका चालकबीच आकाश जमिनको फरक रहेकाले एम्बुलेन्स चालकहरु अन्य चालकभन्दा बढी जिम्मेवार, संवेदनशील, सहयोगी स्वभावका हुन जरुरी रहेको बताए । उनले पछिल्लो समयमा बढेको सवारी जामको कारण एम्बुलेन्स चालकहरु बढी मारमा परेको कारण जाम न्यूनीकरण गर्ने काममा सरकारले ठोस कदम चाल्नुपर्ने समेत बताए ।
सो अवसरमा उनले संघमा आवद्ध एम्बुलेन्स चालकमध्ये ज्येष्ठ चालक सानुबाबु रोक्कालाई सम्मान गरेका थिए ।