काठमाडौं । नक्कली कागजातका आधारमा सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ को ट्रायल दिइरहेको अवस्थामा ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दीपक शाहीलाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उनीहरुबाट प्रहरीले दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला प्रशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरेको छ ।
उनीहरु नागरिकता किर्ते गरी नक्कली ड्राइभिङ लाइसेन्स बनाउने गिरोहमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुबाट नक्कली नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता प्रमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय बाँके भएको छाप एक थान पनि बरामद गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताएका छन् ।
यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरिने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरुको एप्लिकेन्ट आईडीको फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्ट्याम्प प्याड २ थान लगायतका सामग्री पनि बरामद गरेको छ । पक्राउ परेका दुवैजनालाई सरकारी कागजात किर्ते गरेको आरोपमा आवश्यक कारवाही गरिने महाशाखाले जनाएको छ ।