काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधिन कालीगण्डकी करिडोरको सेनाले सरकारलाई हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्मा, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालगायतको निरीक्षण भ्रमण टोलीले सो सकडको स्थलगत निरीक्षण समेत गरेका छन् ।
सोही क्रममा परराष्ट्रमन्त्री ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको एक विशेष कार्यक्रमका बीच प्रधानसेनापति थापाको उपस्थितीमा ईन्जिनियर विभाग प्रमुख प्राविधिक उपरथी रामधर सिंहबाट नेपाली सेनाद्वारा कालीगण्डकी करिडोर आयोजना अन्तर्गत गुल्मीको रुद्रवेनीदेखि अर्वेनीसम्म (२० कि.मि.) र बाग्लुङ्गको मालढुङ्गादेखि बलेवा एयरपोर्टसम्म (१० कि.मि.) सहित जम्मा ३० कि.मि. सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेका हुन् ।
उक्त सडक हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री ज्ञवालीले नेपाली सेनाले विकास निर्माणका जोखिमपूर्ण अवस्थामा कठिन कार्यहरु गर्दै गरेको साथै महत्वपूर्ण घडीमा समेत राष्ट्रलाई सहयोग गर्दै आएको बताए । कालीगण्डकी करिडोर पनि त्यसको ज्वलन्त उदाहरण भएको मन्त्री ज्ञवालीले बताए ।
कालीगण्डकी करिडोरलाई मित्रराष्ट्र चीन र भारतसँग जोड्ने सामरिक महत्वका योजनाका रुपमा रहेकोले मुलूकको आर्थिक सम्वृद्धिमा भाग्यरेखाको कार्य गर्ने वताउँदै उनले दुई छिमेकी राष्ट्रको आर्थिक विकासबाट लाभ लिएर नेपालको आर्थिक उन्नतिमा लाग्नु पर्ने बताए ।
सोही अवसरमा प्रधानसेनापति थापाले मन्तव्य राख्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने गहन जिम्मेवारी नेपालको संविधानले नेपाली सेनालाई दिएको स्मरण गदैै विपद् व्यवस्थापन र राष्ट्र निर्माण लगायतका नेपाल सरकारले तोकेका कानुनसम्मत थप कार्यहरु समेत गरिरहेको बताए ।
‘राष्ट्र सबैभन्दा पहिला’तथा ‘कर्तव्य सधैं पहिला’भन्ने संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीहरुलाई सम्पन्न गर्न नेपाली सेना सदैव प्रतिबद्ध रहेको सेनापति थापाले बताए ।
नेपाली सेनाले संविधानप्रदत्त संवैधानिक दायित्वहरुलाई सदैव गहन रुपमा लिदै आएको वताउँदै प्रधानसेनापति थापाले सरकारको नीति–नियम र रक्षा मन्त्रालयको प्रत्यक्ष मातहतमा रही भविष्यमा समेत आफ्ना जिम्मेवारीहरु संवैधानिक परिधिभित्र रही पूरा गर्न नेपाली सेना सदैव कटिवद्ध रहिरहने प्रतिवद्धता जनाएका छन् ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरु, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका स्थानीय प्रमुखहरु, सञ्चारकर्मीहरुलगायत स्थानीयहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाल सरकारबाट मिति २०७० वैशाख २० गते उक्त करिडोर अन्तर्गतको सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले रिडिदेखि रुद्रवेनीसम्मको ७ कि.मि. सडक खण्ड मिति २०७५ फाल्गुण १ गते सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको थियो । उक्त सडक आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वापस थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको छ ।