काठमाडौं । प्रेस काउन्सिल नेपाल शुद्धिकरण र पत्रपत्रिका वर्गाीकरण खारेजीको माग गर्दै संघर्ष समितिले काउन्सिलमा आज एक घण्टा भर्ना दिएको छ । संघर्ष समितिका संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित तालाबन्दी गरिएको छ । कार्यवाहक अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चाको साँचो सञ्चारमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको बताइएको छ ।
धर्ना पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै संयोजक पाण्डेले आइतबारसम्म समस्या समाधानमा पहल नगरिए थप कडा र शशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
संयोजक तथा प्रकाश साप्ताहिकका सम्पादक पाण्डेले काउन्सिलका पछिल्ला गतिविधिले नेपाली पत्रकारहरुले शिर झुकाउनुपर्ने स्थिति सृजना भएको, पत्रकार र संचारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल आफै आचारसंहिता उल्लंघन गरिरहेको र पत्रकारीताको मर्यादाविपरीत पत्रकार तथा संचारमाध्यमको हुर्मत लिने काम गरिरहेकाले तालाबन्दी गर्नुपरेको बताए ।
काउन्सिलले हरेक बर्ष वर्गीकरण गर्दा पत्रपत्रिकालाई विभेद गरेको भन्दै पत्रकारहरुले काउन्सिलका सम्पूर्ण पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुरको समेत सक्रिय सहभागितामा भएको आन्दोलनलाई सफल पार्न र देशव्यापी रुपमा ऐक्यवद्धता जनाउँदै सबै पत्रकार तथा महासंघका सबै शाखाहरु एकतावद्ध भएका छन् । आन्दोलनलाई सफल बनाउन उपत्यका बाहिरका महासंघका शाखा र पत्रकारहरुले आआफ्ना क्षेत्रमा विरोध प्रदर्शनको तयारी समेत गरिरहेका छन् । केही पत्रकारहरु जिल्लाबाट आएर केन्द्रीय आन्दोलनलाई सहयोग गरिरहेका छन् । संयोजक पाण्डेले काउन्सिलको विभेदकारी वर्गिकरण र काउन्सिलका पदाधिकारीहरुको मनोमानी अन्त्य नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
आज भएको धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका पूर्व केन्द्रीय सदस्यद्वय इश्वरी वाग्ले, रामहरी सिलवाल, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झा, प्रेस संगठनका उपत्यका सदस्य तारा नेपाल, प्रेस युनियनका उपत्यका सल्लाहकार पदमराज जोशी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सचिव रमेश महतरा, प्रेस सेन्टर नेपाल ३ नं संयोजक कुमार वाङदेल, वरिष्ठ पत्रकारहरु विष्णुकुमार प्रसाई, विजय विस्फोट, एलएस लामा, पिपुल्स भोलियन्टर्स जर्नालिस्ट फोरमका संयोजक नवराज न्यौपाने, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शन्तराम बिडारी, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, झापा अध्यक्ष तारामणि सापकोटा, महासंघका केन्द्रीय सदस्य माधव चौलागाँइ, केन्द्रीय लेखा आयोग सदस्य भुपेन्द्र आचार्य, वरिष्ठ पत्रकार चक्रपाण्ी नेपाल लगायतले ऐक्यवद्धता जनाएका छन् ।
शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरी परिचालन गरिएकोमा आन्दोलनरत पत्रकारहरुले कडा आपत्ति प्रकट गरेका छन् । कावा अध्यक्ष श्रेष्ठले प्रहरी परिचालन गरेर आन्दोलनरत पत्रकारहरुमाथि दमन गर्नुका साथै काउन्सिलको मूल ढोकामा टाँगिएको व्यानर जफत गराएकोमा पत्रकारहरुले कडा निन्दा र भत्सर्ना गरेका छन् ।
काउन्सिलका पदाधिकारीको हस्तक्षेपका कारण निस्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा पत्रिका वर्गीकरण हुन नसकेको भन्दै काउन्सिलले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/०७५ को पत्रपत्रिका वर्गीकरण खारेज गरी पारदर्शी रुपमा पुर्नवर्गीकरण गर्न प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, सूचना तथा प्रसारण विभागका महानिर्देशक र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाइ सकिएको पनि पाण्डेले जानकारी दिएका छन् ।
आन्दोलनरत पत्रकारहरुले केही दिनअघि संचारग्राममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले काउन्सिलमा भएको भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्न एउटा आयोग गठन गर्न माग गरेका थिए ।
अन्तरक्रियामा पत्रकारहरुले प्रेस काउन्सिलको बजेट व्यापक दुरुपयोग गरिएको, आचारसंहिता गोष्ठीको नाममा वार्षिक करोडौं भ्रष्टाचार गरिएको र पत्रिका वर्गिकरण गर्दा समेत काउन्सिलका पदाधिकारीहरुले पत्रकारहरुसँग खसी, बोका, रक्सी, चामल र नगद समेत लिएर त्यही आधारमा वर्गिकरण गरिएको आरोप समेत लगाएका थिए । काउन्सिलमा नक्कली बिल बनाएर समेत अनियमितता गर्ने गरेको काउन्सिलका पूर्व पदाधिकारीहरुले नै आरोप लगाएका छन् ।
प्रेस काउन्सिल नेपाल विगत लामो समयदेखि अध्यक्षविहिन भएकाले तत्कालै उच्च नैतिकतावान व्यक्ति नियुक्त गर्न पत्ररकाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।