काठमाडौं । सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा जेल परेपछि सो पद रिक्त छ । उपसभामुखलाई अधिकार प्रत्यायोजन गर्ने अधिकार नभएको हुँदा सभामुखले गर्ने सबै काम रोकिएका छन् । उपसभामुखलाई विधेयक प्रमाणिकरणको अधिकार दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याए पनि अदालतले त्यसबारे अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजन सम्वन्धी विधेयक, राष्ट्रिय परिचयपत्र र पञ्जिकरणको सम्वन्धमा बनेको विधेयक लगायतका पाँच विधेयक प्रमाणिकरण नहुँदा अन्यौलमा छन् । भूमि सम्वन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रमाणिकरण गरेर सभामुखले राष्ट्रपतिसमक्ष पठाउनुपर्ने ती सवै रोकिएका छन् । विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका लागि कानून आवश्यक हुने भएपनि विधेयक नै अल्झिएकाले समस्या बढेको हो । विभिन्न विधेयकहरु रोकिदा कानून बनाउन विलम्व हुने र समयमा कानून नबन्दा त्यसले संवैधानिक र राजनीतिक जटिलता आउने देखिन्छ ।
मंसिरको अन्तिम साता संसदको बैठक बोलाउने तयारीसँगै सत्तारुढ दल नेकपाले नयाँ सभामुखको खोजी शुरु गरेको छ । सोमबार बस्ने नेकपाको सचिवालय वैठकले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा गर्ने, सभामुखको उमेदवार चयन गर्ने, स्थायी समिति बैठकको मिति तोक्ने नेकपा स्रोतले बताएको छ ।
पुष्पकमल दाहाल (प्रचण्ड) लाई कार्यकारी अध्यक्ष बनेपछि बसेको सचिवालय वैठकले उपनिर्वाचनको समीक्षा प्रतिवेदन बुझाउन सम्वन्धित जिल्ला, क्षेत्र, स्थानीय कमिटीहरुलाई निर्देशन दिएको थियो । तल्ला कमिटीहरुबाट प्राप्त प्रतिवेदनका आधारमा सचिवलयले चुनावको समीक्षा गर्ने बताइएको छ ।
सोमबारको सचिवालय बैठकको तयारीस्वरूप प्रचण्डले नेकपा नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । भेटमा सचिवालय बैठककै बारेमा छलफल भएको बताइएको छ ।
त्यस्तै प्रचण्डले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसँग छलफल गरेका छन् ।
सभामुखको उम्मेदवार सुवास नेम्वाङलाई बनाउनेबारेमा नेताहरुबीच लगभग सहमति भइसकेको स्रोतको दावी छ । उपसभामुख शिवमाया तुम्वाहाम्फेले सभामुख बन्न खोजेकी छिन् । तर नेकपाकै पूर्वमाओवादी समूहले भने आफ्नो भागमा परेको सभामुख पद नछाड्ने दावी गरिरहेको छ । पूर्वमाओवादी नेताहरु अग्नि सापकोटा, पम्फा भुषाल, देव गुरुङ, हरिवोल गजुरेल, ओनसरी घर्तीलगायतले सभामुख पदमा दावी गरेपछि नेकपा नेतृत्व अप्ठ्यारोमा परेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली उपसभामुखलाई राजीनामा गर्न लगाएर सुवास नेम्वाङलाई सभामुख बनाउने सोचमा रहेको नेकपा स्रोतले बताएको छ । नेकपाको संसदीय दलका उपनेता समेत रहेका नेम्वाङलाई सभामुख बनाउन अर्का अध्यक्ष दाहाल पनि सहमत भएको नेकपा स्रोतले बताएको छ । अध्यक्षद्वयको कार्यविभाजन र मन्त्री हेरफेरकै समयमा उनीहरुबीच नेम्वाङलाई सभामुख बनाउने बारेमा सहमति भएको तर अध्यक्ष दाहालले आफ्ना पक्षका नेताहरुसँग कुरा गर्न बाँकी रहेको कारण त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको बताइएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सरकारको काम गर्न र गराउन आफू अनुकूल सभामुख बनाउन खोजेका छन् । पार्टी एकता अघि र पछि दुवै दलका नेताहरुसँग कुराकानी गराउन भूमिका खेलेका नेम्वाङका सवालमा अध्यक्ष दाहाल नरम भएको बताइएको छ । त्यस्तै विगतमा पनि नेता नेम्वाङले संविधान निर्माणमा राम्रो भूमिका निर्वाह गरेको तथा अनुभवी भएका कारणले दाहाल सहमत भएको स्रोतको दावी छ ।
नेम्वाङ वा अरु कोही पनि नेकपाका सांसद सभामुख भएमा उपसभामुख तुम्वाहाम्फेले राजीनामा गर्नुपर्ने हुन्छ । संविधान अनुसार सभामुख र उपसभामुख पद एउटै लिंग र दलको हुन हुँदैन । तर उपसभामुख तुम्वाहाम्फेले राजीनामा नगर्ने जिकिर गर्दै आएकी छिन् ।
नेपाली कांग्रेसले पनि सभामुख पद दावी गरेको छ भने समाजवादी पार्टी, राजपाले पनि सभामुख र उपसभामुख पद मध्ये एक पाउनुपर्ने माग गर्दै आएका छन् । तसर्थ दलीय झगडाले सभामुख चयन निकै सकस हुने देखिएको छ ।