काठमाडौँ । नेपाल हस्तकला महासंघको आयोजनामा १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता राजधानीमा शुरु भएको छ ।
भृकुटीमण्डपमा आयोजित मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पुँजीको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री डा.खतिवडाले व्यवसायीलाई सहुलियत ऋणमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व रहेकाले यस व्यवसायको प्रवद्र्धनका लागि व्यवसायीले लक्ष्यसहितको वार्षिक कार्यतालिका लिएर आएमा यस क्षेत्रको समस्या समाधान गर्न आफूले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
भ्रमण वर्षमा आउने पर्यटकलाई हस्तकलाका सामग्री देखाउन व्यवसायीसँग समन्वय गरी प्रदर्शनीकक्ष निर्माण गरिने बताउँदै मन्त्री डा.खतिवडाले पर्यटकले मौलिक परम्पराका ती सामग्री खरीद गरेमा सम्बन्धित व्यवसायी लाभान्वित हुने बताए ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीले गुणस्तरीय सामान कम लागतमा उत्पादन गर्न आवश्यक पर्ने नीति निर्माण परिमार्जनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यस क्षेत्रका उद्यमीले अब अन्तर्राष्ट्रिय बजारको मागअनुसार प्रविधिको प्रयोग गरी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आन्तरिक बजारमा करिब रु १० अर्बको हस्तकला सामग्रीको कारोबार हुने गरेकाले यसको विकास गर्न सकेमा रोजगारी विकास भई देश समृद्ध बन्ने बताए ।
आगामी सोमबारसम्म हुने मेलामा धातुका मूर्ति, ढुंगाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलनबाँसका वस्तु राखिएका छन् । अमूर्त सांस्कृतिक सम्पदा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा प्रतिनिधित्व गर्ने भेषभुषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सांस्कृतिक कार्यक्रमलाई मेलामा प्रस्तुत गरिएका छन् ।
स्वदेशमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएको छ । यसले देशभर ११ लाख मानिसलाई रोजगारी दिइरहेको जनाइएको छ ।
मेलामा सात प्याभिलियनसहित करिबदुई सय कक्ष छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलंका, बङ्गलादेश, पाकिस्तानका व्यापारीको पनि बिक्रीकक्ष राखिएको छ । हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासंघले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ ।