काठमाडौं । नेपाल–चीन गैरसरकारी सहयोग मञ्चको वैठक सन् २०२० को सेप्टेम्वर अन्तिम हप्ता सिचुवानमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा मंगलबार बसेको तयारी वैठकले ‘वेष्टर्न चाइना अन्तर्राष्ट्रिय मेला’को अवसर पारेर त्यस्तो वैठक आयोजना गर्ने निर्णय गरेको बताइएको छ ।
बैठकमा नेपाल पक्षको नेतृत्व मञ्चका सह–अध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले र चिनियाँ पक्षको नेतृत्व अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सिचुवान प्रान्तीय उद्योग वाणिज्य महासंघका अध्यक्ष छन् फाङले गरेका थिए ।
व्यापार प्रवद्र्धन, लगानी आकर्षण, पर्यटन तथा सांस्कृतिक आदानप्रदान तथा दुवै देशका गैरसरकारी क्षेत्रबीच हुने अन्य आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको संयुक्त पहलमा सन् १९९६ अप्रिलमा मञ्चको स्थापना गरिएको हो । मञ्चको बैठक दुवै देशमा पालैपालो हुँदै आएको छ ।
मञ्चको स्थापनापश्चात् बंैकिङ, पर्यटन, नीति निर्माण तथा सूचना आदानप्रदान, व्यापार सहजीकरण, व्यापार प्रवद्र्धनलगायतका क्षेत्रमा निकै धेरै सफलता हासिल भएको छ । मञ्चको आगामी बैठकमा चीनले अगाडि सारेको एक क्षेत्र एक सडकअन्तर्गत पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार निर्माण, मानव संसाधन विकाससहित अन्य महत्वपूर्ण क्षेत्रमा सहयोग सहकार्यमा छलफल हुने समेत बैठकले तय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपतिबाट हालै सम्पन्न आपसी भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ हासिल गर्नुका साथै महासंघ र एसीएफआईसीबीचको सम्बन्ध अझ परिणामदायी भएको विश्लेषण बैठकले गरेको छ ।
बैठकमा मञ्चका माध्यममार्फत निकै धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको विश्लेषण गर्दै आगामी दिनमा मञ्चका माध्यमबाट नेपालमा चिनियाँ लगानी, प्रविधि, सीप र चिनियाँ विकास मोडल आकर्षित गर्न सहकार्यलाई अझ बढी घनीभूत ढंगले अगाडि बढाउनुपर्नेमा समेत दुवै पक्षबाट जोड दिइएको छ । बैठकमा सिचुवान प्रनिधिमिण्डलका तर्फबाट नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने र अहिले पनि सिचुवानबाट नेपालको पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार विकासमा सबैभन्दा बढी लगानी आइरहेको र नेपालमा लगानीका अवसर तथा प्रक्रियाका विषयमा चिनियाँ लगानीकर्ताहरूसमक्ष पर्याप्त जानकारी पुग्नसके अझै बढी लगानी आउने धारणा समेत राखिएको थियो ।
बैठकमा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, नेपाल–चीन गैरसरकारी सहयोग मञ्चका महासंघ तर्फका सदस्यहरू, महासंघका महानिर्देशक धरणीधर खतिवडा, होटल व्यवसायीहरू, चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरू, नेपाली उद्यमी व्यवसायीहरू र महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।