काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले आव २०७५÷७६ मा आफ्ना सेयरधनीहरूलाई १२ दशमलव ७५ प्रतिशत बोनससेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी २५ दशमलव पाँच प्रतिशत लाभांश दिने भएको छ । बैंकको १३औँ वार्षिक साधारणसभाले लाभांस दिने निर्णय पारित गरेको हो ।
बैंकले आव २०७५/७६ मा दुुई अर्ब ७६ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनससेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रूपैयाँ पुग्नेछ । सभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आईएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाबाट पारित भएसँगै दुई बैंक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ । सभाले बैंकको अधिकृत पुँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बताए । मर्जरपछि ग्लोबल आईएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै, उनले सेयरधनीको आकांक्षाअनुरूप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यी दुई बैंकले गतअसार २० गते मर्जरका लागि प्रारम्भिक सहमति गरेका थिए भने कात्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँच जना र जनताको तर्फबाट दुई जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायब कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।
मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप दुुई खर्ब १० अर्बभन्दा बढी र कुल कर्जा लगानी करिब दुुई खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब तीन सय तथा सेवा केन्द्रको संख्या आठ सय ५० भन्दा बढी हुनेछ । बैंकमातीन हजार दुुई सय ५० भन्दा बढी कर्मचारीहरू रहनेछन् । त्यस्तै बैंकको दुुई सय ५६ एटीएम, दुुई सय ४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तीनवटा वैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहनेछन् ।