१५ विधाका उत्कृष्ट करदाता सम्मानित/ धेरै कर तिर्ने व्यक्तिमा सिद्धार्थ शमशेर राणा नै
काठमाडौं । गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरू सम्मानित भएका छन् । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आज
आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा १५ विधाका उत्कृष्ट करदाता सम्मानित भएका हुन् ।
उनीहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका छन् ।
गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ भने निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अगाडि छ ।
कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् भने बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वल्र्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले बढी कर बुझाएका छन् ।
त्यस्तै पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हृयात) र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ भने सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन् ।
सो अबसरमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले परिवर्तित राजनीतिक परिदृष्यमा केही अन्यौल र अप्ठ्यारोका कारण करको दायरा बढे जस्तो देखिएपनि सरकार अध्यारोबाट उज्यालोतर्फ अगाडि बढिरहेको बताए ।
राजस्वबाट धेरै सार्वजनिक खर्च धान्ने कि ऋण लिने भन्ने विषय महत्वपूर्ण रहेको वताउँदै अर्थमन्त्री खतिवडाले व्यवसायीलाई औपचारिक क्षेत्रमा ल्याउने क्रममा केही अफ्ठ्यारो भएको स्वीकार गरे ।
आर्थिक वृद्धिको लक्ष्यमा अडिग रहेको भन्दै अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षमा बजेटमा उल्लेख भएअनुसार नै आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
आफ्नो लोकप्रियताका लागि देशको अर्थतन्त्रमा असर पर्ने गरी काम नगर्ने स्पष्ट पार्दै मन्त्री खतिवडाले राजश्व संकलन नबढाउँदा खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने स्पष्ट पारेका छन् ।
तस्बिर : रासस