काठमाडौं । डडेल्धुरामा आमरण अनशन बसेका डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीका जायज मागहरु पूरा गर्न पनि आग्रह गरेका छन् ।
प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा भने ‘डा. केसीको जीवन रक्षाका लागि तत्काल बार्ता गर्न र जायज माग पूरा गर्न सरकारलाई आग्रह गर्दछौं ।’
डा. केसी ७ बुँदे माग राखेर ८ दिनदेखि डडेल्धुरामा अनशन बसेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर भएको डाक्टरहरुले बताए पछि सोमवार सरकारले उनलाई काठमाडौं ल्याएर उपचार गर्न सरकारले नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर उनले माग पूरा नभएसम्म काठमाडौं नफर्कने र उपचार पनि नगर्ने अडान राखेपछि हेलिकोप्टर रित्तै फर्किएको थियो ।
यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गरेका थिए । डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताउँदै मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताएका थिए ।
सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. केसीले अनशन तोडेर सहयोग गर्नुपर्ने बताएका छन् ।