काठमाडौँ । नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका लागि आह्वान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलमा परिसङ्घका अध्यक्ष शतिषकुमार मोरले सामाजिक सुरक्षा योजनाप्रति उद्योगी निकै सकारात्मक भएका उल्लेख गर्दै सबै उद्योगीलाई कोषमा आवद्ध हुन विशेष आह्वान गर्ने बताएका छन् ।
सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि योजनाबद्ध रुपमा सहयोग गर्दै आएको वताउँदै परिसङ्घकै सहयोगमा पोखरा, विराटनगरलगायत मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा योजना कार्यान्वयनका बारेमा वृहद छलफल भएको थियो ।
सो छलफलमा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा परिसङ्घले गरेको सहयोगको प्रसंशा गरे । सामाजिक सुरक्षा योजनाले श्रमिकको उत्पादकत्व वृद्धि हुनेमा ढुक्क हुन विश्वास दिलाउँदै मन्त्री विष्टले सूचीकरणमा ढिलाइ नगर्न आग्रह पनि गरेका छन् ।
परिसङ्घको टोलीले योजनाका व्यवहारिक कार्यान्वयनमा केही कठिनाई देखिएको भन्दै सहजीकरणका लागि आग्रह गरेको थियोे । योगदानकर्ताले बढीभन्दा बढी लाभ प्राप्त गर्ने गरी योजनालाई परिमार्जन गर्न सुझाव दिइएको थियो ।
सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकको सूचीकरणका लागि आगामी मङ्सिर १४ गतेसम्मको समयसीमा तोकेको छ । कोषमा अहिलेसम्म १० हजारभन्दा बढी प्रतिष्ठान र एक लाखभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन् ।



















