काठमाडौँ । नेपाल टेलिकमले सातै प्रदेशका मुख्य विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको जनाएको छ । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन भइरहेको छ ।
गत कात्तिक २० विर्तामोड र २२ गते वीरगञ्जमा सिमकार्ड वितरणका साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन कार्य उत्साहजनक रूपमा सम्पन्न भएको थियो भने आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिमकार्ड वितरण कार्य सम्पन्न गरिएको टेलिकमले जनाएको छ ।
भोलि नेपालगञ्जको रामलीला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मङ्सिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने टेलिकमले जनाएको छ । टुजी वा थ्रिजी सिम भएका कम्पनीका ग्राकहरुलाई २०० एमबी डाटा बोनससहित फोरजी सिम दिइने बताइएको छ ।
गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुका साथमा गरिरहेको साङ्गीतिक कार्यक्रम सप्तरङ २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन गरिएको बताइएको छ ।
कम्पनीले नवीनतम प्रविधिसहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरेपश्चात् ग्राहकमाझ फोरजी सेवाको लोकप्रियता बढ्दै गएको जनाएको छ ।