काठमाडौं । लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेकी हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिकरुपले विपन्न पृष्ठभूमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा) को पहिचान र उपचारका लागि पाँच लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गर्ने भएको छ । रटिनो ब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजात शिशु र पाँच वर्षसम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५ हजार नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यान मात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापी, लेजर थेरापी, प्लेग ब्राकि थेरापी, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।
सुस्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यप्राप्तिमा सहयोग पु¥याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो । बैंकले आफ्ना शाखा एवं आईटी च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।