काठमाडौं । हाउजिङ निर्माण गरिदिने भन्दै सर्वसाधारणको रकम ठगी गरेको आरोपमा बिहीबार त्रिभुवन विमानस्थलाट पक्राउ परेका पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
आइतबार जिल्ला अदालतले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।
सिंगापुरबाट काठमाडौं उत्रिने क्रममा बिहीबार साँझ प्रहरीले विमानस्थलबाट रुप ज्योतिलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेसँगै प्रहरीले उनकी छोरी सुरुची ज्योतिलाई समेत पक्राउ गरेको हो ।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपको मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिरमा अनुमति दिएको थियो । त्यसविरुद्ध उनले मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए ।
त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाश ढुंगानाको इजलासले मंगलबार जिल्ला अदालतको पुर्जीलाई सही ठहर गर्दै उक्त रिट खारेज गरेपछि ज्योतिलाई समात्न प्रहरीलाई बाटो खुलेको हो ।
ज्योति समूहको लगानी रहेको ल्यान्डमार्क डेभलपर्सका नाममा सर्वसाधारणबाट रकम उठाएर हाउजिङ नदिएको आरोपमा गत वर्ष मंसिरमा पीडितले महानगरीय प्रहरी परिसर काठमाडौंमा सञ्चालक ज्योतिविरुद्ध उजुरी दिएका थिए । बाँसबारीमा हाउजिङ बनाएर वितरण गर्ने भन्दै ल्यान्डमार्कले सर्वसाधारणबाट रकम उठाएको थियो ।
प्रहरीमा परेको उजुरीअनुसार ज्योति समूह र त्यसकै अर्को संस्था स्याकार कम्पनीका नाममा ल्यान्डमार्कको सेयर कायम गरी हाउजिङ कम्पनी दर्ता गरिएको थियो । कम्पनी दर्तापछि सर्वसाधारणले हाउजिङ बुकिङस्वरूप लगानी गरेका थिए । तर हाउजिङ निर्माण नगरेपछि विज्ञेन्द्रकृष्ण मल्ल प्रहरीमा गएका थिए ।
ज्योति तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल ०६१ मा अर्थ सहायकमन्त्री भएका थिए ।
यसैवीच उद्योगी एवं पूर्वमन्त्री ज्योतीलाई पक्राउको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन भएको छ । ज्योतीलाई दबावमा धरपकड गरेर थुनामा राखिएको भन्दै उदाय् समाज असनले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । उनीहरुले ज्योतीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।