वालिङ । लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकारले कूटनीति र राजनीतिक माध्यमबाट छलफल गरेर टुंगोमा पुर्याउने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।
सो विवादबारे सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिएको बताउँदै प्रवक्ता बाँस्कोटाले भने “सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन ।”
देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज अनावरण गर्दै मन्त्री बाँस्कोटाले सरकारले जनतामा आशा जगाउँदै गएको वताउँदै निराशाको खेती गरेको बताए । सरकारलाई पाँच वर्षमा मुलुकले काँचुली फेरेर छाड्ने दावी पनि गरे ।
इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको पनि मन्त्री बास्कोटाले बताए ।
सो कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले सबैलाई ढुक्क हुन आग्रह गरेकी छिन् । राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।