काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश नयाँ व्यवस्थामा प्रवेश गरेको लामो समय नभएको भन्दै केहीले चमत्कार नै हुनुपर्थ्यो भन्दै नकारात्मक टिप्पणी गर्न लागि परेको बताउनुभएको छ ।
तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले नयाँ संविधान अनुसार चुनाव भएर तीन तहको सरकारले काम थालेको दुई वर्ष पनि नभएको भन्दै आत्तिनु पर्ने परिस्थिति नबनेको बताउनुभयो । प्रचण्डले हरेक विषयमा नकारात्मक सोच त्याग्नु पर्ने बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुः ख र बलिदानले आएको भन्दै प्रचण्डले सिंहदरबारको अधिकार स्थानीय तहमा लाने कुरा सजिलै प्राप्त नभएको बताउनुभयो ।
देश पूरै व्यवस्था नै परिवर्तन भएको अवस्थामा पुगेको भन्दै प्रचण्डले संघीयताका बारेमा नकारात्मक प्रचार हुन चिन्ताको विषय भएको बताउनुभयो । करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी छन् ।
सम्मेलन आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सम्मेलनमा कृषि, उद्योग, पर्यटन, यातायात र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २२ परियोजनाहरु प्रस्ताव गरिएको र कम्तिमा १० परियोजनामा सम्झौता हुने अपेक्षा रहेको बताउनुभयो ।
सम्मेलनमा तिलोत्तमा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र कोल्ड स्टोरसहित, तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रेल्वे लगायत प्रस्ताव राखिएको छ ।