पोखरा । केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् ।
पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक रु २० हजारभन्दा बढी आम्दानी गरी अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । बिहान उठ्नेबित्तिकै बस चढेर पोखराको लेखनाथस्थित बेगनासतालमा रहेको अन्नपूर्ण माछा फार्ममा पुगी खरीद गरिएका माछा साइकलको सहायताले बजारमा बेच्नु उहाँको दैनिकी हो ।
नुवाकोट बेलकोट नगरपालिका–९ स्थायी घर भएको बताउने उहाँ पोखराको लेकसाइड, विरौटा, रामबजार, आँखा अस्पतालचोक लगायतका विभिन्न स्थानमा ‘लौ आयो लोकल ताजा माछा’ भन्दै बिहानै सडकमा भेटिनुहुन्छ । आँखा अस्पतालचोकमा सोमबार बिहानै माछा बिक्रीका क्रममा सरसफाइ गरिरहेको अवस्थामा भेटिएका तमाङले रासससँग भन्नुभयो, “दैनिक २० देखि २६ किलोग्राम माछा खरीद गरी प्रतिकेजी रु ४०० मा बेच्ने गरेको छु, म पेशाप्रति सन्तुष्ट छु ।”
स्वदेशमा जीविकोपार्जनका लागि अप्ठेरो परेपछि विदेश जानका लागि पासपोर्टसमेत बनाएको बताउने उहाँले परिवारसँगै बसेर बिहानको करीब चार घण्टा बजारमा डुली आम्दानी गर्दा आफूलाई सुखको अनुभूति भएको सुनाउनुभयो । उहाँले आजभन्दा चार वर्षअघि फेवातालको खपौंदीबाट माछा खरीद गरी बिक्री गर्न शुरु गर्नुभएको हो ।
त्यस अवधिमा रु ३० हजारसम्म आम्दानी हुने गरेको अनुभव सुनाउँदै उहाँले उक्त क्षेत्रमा जलाहारी समुदायका महिला फुर्लुङमा माछा बेच्ने हुँदा माछा पाउनै असहज भएपछि विकल्पको रूपमा आफू अन्नपूर्ण फार्मतर्पm लागेको बताउनुभयो । पोखरीमा हुर्केका रेवाजातका माछा पोखरेलीले मन पराउने गरेका कारण पनि खरीद गरिएका माछा सबै बिक्री हुने गरेको उहाँको भनाइ छ ।
“बिक्रीसँगै सरसफाइसमेत आपैmँले गरिदिने भएकाले माछाको माग दिनप्रतिदिन बढ्दै गएको छ”, उहाँले थप्नुभयो । उहाँका दुई छोरा र छोरी स्कूल पढ्न जान्छन्, श्रीमतीले बुद्धचोकमा फलफूल तथा तरकारी बिक्री गर्दै आउनुभएको छ । जीविकोपार्जन राम्रैसँग चलेको छ । साइकलको अगाडि ह्याण्डलमा झुन्ड्याएर र पछाडि क्यारेटमा एक÷एक किलोको पोका बनाएर बजार डुलाउँदै आउनुभएका उहाँले सरसफाइबाट निस्कने फोहरसमेत साइकलमै राखेर उचित स्थानमा व्यस्थापन गर्दै आएको जानकारी दिनुभयो ।
– हरि बाँस्तोला