बागलुङ, भारतीय सेनाबाट सेवानिवृत्त बागलुङ नगरपालिका–१४ नारायणस्थानका ध्रुव जिसीलाई कुनै इलम नगरी बस्न मन लागेन । श्रीमती दिपा पहिलेदेखि नै सानोतिनो उद्यममा जोडिनुभएको थियो ।
घर फर्केपछि धु्रव दम्पती मिलेर नयाँ योजना बनाए । दुई वर्षअघि बागलुङको छिमेकी बेनी नगरपालिका–१ रत्नेचौरमा ‘दीप पशुपक्षी फार्म’ स्थापना गरेर दिपाले सदरमुकाममा गर्दै आएको सानो कुखुरापालन व्यवसायलाई विस्तार गर्न लागे ।
रु २२ लाख बढीको लगानीमा ‘फार्म’ खोलेको ध्रुवले बताउनुभयो । ‘फार्म’ मा कुखुरा, हाँस, खरायो, बाख्रालगायत पशुपक्षीको व्यावसायिकपालन गरिएको छ । ब्रोइलरसँगै स्थानीय कडकनाथ र लुइँचे जातका कुखुरा छन् । बयर र जमुनापारि जातका गरी चार वटा बाख्रा छन् ।
यस फार्ममा एक हजार ५०० बढी ब्रोइलर र अन्य जातका गरी कूल एक हजार ८०० कुखुरा रहेको धुव्रले बताउनुभयो । यस्तै २०० हाँस छन् । जिसी दम्पतीलाई ‘फार्म’ का लागि जग्गा व्यवस्थापनको झण्झट पनि व्यहोर्नु परेन ।
“मेरै माइतीको जग्गा भएकाले सहज भयो, सडक छेउ भएकाले व्यावसायिकरुपमा पनि उपयुक्त छ”, दिपाले भन्नुभयो । बागलुङ–बेनी सडक नजिक भएकाले पशुपक्षी बिक्री र ढुवानीमा समस्या छैन । कुखुरा, हाँसको मुख्य बजार पनि बागलुङ र बेनी नै हो ।
जिसी दम्पतीले पशुपक्षीपालनसँगै रेष्टुराँ व्यवसाय पनि शुरु गरेको छ । ‘फार्म’ अवलोकनमा आउनेदेखि पारिवारिक वातावरणमा रमाउन चाहानेलाई रेष्टुराँको सुविधा उपलब्ध छ । ‘फार्म’ कै उत्पादन कुखुरा, हाँसको मासुदेखि अन्य विभिन्न परिकार उपलब्ध हुन्छ ।
शहरको भीड र कोलाहल छलेर खान, बस्न चाहानेलाई पनि रेष्टुराँले लोभ्याउने गरेको छ । “दुःख गरेअनुसार पैसा पनि छ, हामी सन्तुष्ट छौँ”, दिपाले भन्नुभयो, “यति गरेपछि मासिक एक लाख कमाइ त हुनै प¥यो नि ।”
कुखुराको मूल्य घटबढ भइरहने हुँदा कारोवार पनि तलमाथि भइरहन्छ । सबै कुखुरा एकै चरणमा बजार पठाउँदा आठ÷दश लाख रुपैयाँसम्मको कारोवार हुने गरेको दिपाको भनाइ छ । कुखुराको दानापानी, औषधोपचार, रेखदेख, व्यवस्थापनमा खर्च पनि उत्तिकै छ ।
व्यावसायिकरुपमा ‘फार्म’ स्थापना भएको दुई वर्ष भए पनि स्थानीय तह या अन्य सरकारी निकायबाट कुनै पनि अनुदान सहयोग नपाएको जिसी दम्पतीको गुनासो छ । “प्रयास नगरेको भने होइन, तर के के नमिलेर हो अहिलेसम्म पाएका छैनौँ”, ४९ वर्षीय ध्रुवले भन्नुभयो ।
शुरुमा ३०० कुखुराबाट शुरु गरेको ‘फार्म’ मा अहिले एक हजार ८०० बढी कुखुरा पुगेको र यसलाई अझै बढाउने सोच रहेको उहाँको भनाइ छ । ‘फार्म’ को अधिकांश कामधन्दामा जिसी दम्पती आफैँ खटछन् । आवश्यक पर्दा ज्यालादारीमा कामदार बोलाउँछन् ।
“पहिले बजार बस्दा पनि मैले थोरै सङ्ख्यामा भए पनि कुखुरा पाल्थेँ, बजारमा केही नगरी बस्न मनले मानेन”, दिपाले भन्नुभयो, “पछि श्रीमान् पनि विदेशबाट आउनुभयो, “व्यावसायिकरुपमा कुखुरापालन गर्ने सोच बनायौँ, अहिले सफल पनि भएका छौँ ।”
जिसी दम्पतीका ठूली छोरी अष्ट्रेलिया र चीनमा पढ्दै हुनुहुन्छ । छोरा बुबाआमासँगै बसेर कक्षा १० पढ्दै हुनुहुन्छ । छोराछोरीको पढाइ खर्चदेखि घरव्यवहार जिसी दम्पतीको यही फार्मको आयआर्जनले धानेको छ ।
–रामबहादुर थापा