तनहुँ, धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसक्नुभएका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थाल्नुभएको छ ।
आठ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बन्नुभएका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कंम्पनीको शाखा प्रबन्धक भएरसमेत काम गर्दै आउनुभएको थियो । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाको प्रबन्धक पदको जागिर छाडेर पन्थ व्यावसायिक भैँसीपालनमा लाग्नुभएको हो । कृषक पन्थ हाल एनप्याव्सन तनहुँको सचिव पनि हुुनुहुन्छ ।
उहाँले भन्नुभयो, “सानै उमेरदेखि पशुपालनतर्फ रुचि भए पनि पढ्ने बेला भएकाले पढ्दै गएँ र केही समय जागिर पनि खाएँ । तर, पढ्दैमा जागिर खानुपर्छ भन्ने होइन ।” पढेर केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफू यस पेशातर्फ लागेको उहाँको भनाइ छ । उहाँले गुँदी गाउँबाट दमौली शहर झरेको झण्डै १२ वर्षपछि पुनः गाउँ फर्किएकाले फार्मको नाम नै गाउँ फर्क कृषि उद्यम प्रालिमा दर्ता गरी व्यवसाय गर्नुभएको छ ।
उक्त फार्ममा स्थानीय बाबुराम ढकाल र पन्थ दुई जना मिलेर व्यवसाय सञ्चालन गर्नुभएको हो । विसं २०७५ मङ्सिरमा भारतबाट रु एक लाख ५० हजार मूल्यका १० दुहुना मुर्रा जातका भैँसी ल्याएर पाल्न थालेको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक १०० लिटर दूध उत्पादन भएको र प्रतिलिटर रु १०० मा बिक्री गर्ने गरेको पन्थले बताउनुभयो । उत्पादित दूध दमौली बजार क्षेत्रमा सजिलै खपत हुँदै आएको र माग बढिरहेकाले छिट्टै भैँसीको सङ्ख्या थप्ने योजना उहाँकोे छ ।
उहाँले भन्नुभयो, “पानी नमिसाएको शुद्ध दूध पाएपछि केही उपभोक्ता फार्ममै दूध लिन आउने गरेका छन् ।” उक्त फार्म सदरमुकाम दमौलीबाट करीब आठ किलोमिटर उत्तरमा पर्छ । शुरुमा अष्टे«लियाबाट बोयर जातका बाख्रा ल्याएर बोयर बाख्रा स्रोत केन्द्र बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाख्राको खोरको पूर्वाधार बनिनसकेका कारण भैँसीपालन व्यवसायलाई पनि सँगसँगै लैजान लागिएको हो ।”
करीब १५० क्षमताको बाख्रा खोर निर्माण र फार्मसम्म पुग्ने सडकदेखि फार्मभित्रका शाखा सडक निर्माणकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । व्यावसायिक पशुपालनका लागि करीब ५०० रोपनी जग्गा रहेको छ । फार्म सञ्चालन शुरु गरेदेखि करीब रु ५० लाख लगानी भइसकेको कृषक पन्थ बताउनुहुन्छ । उत्पादनमूलक बाँझो जग्गा उजाड हँुदै गएको, युवाहरु विदेशिएको अवस्थामा बाँझो रहेको जग्गालाई सदुपयोग गर्दै केही गराँै भन्ने सोचका साथ आफू पशुपालन व्यवसायमा लागेको उहाँले बताउनुभयो ।
हाल उक्त फार्ममा सात कर्मचारी कार्यरत छन् । गाउँका करीब २५ जनालाई प्रत्यक्ष रोजगारी दिने उहाँको योजना छ । आवश्यकताअनुसार केही कर्मचारीलाई ज्यालादारी तरिकाले राख्न सकिने उहाँले बताउनुभयो । नेपाल सरकारले व्यावसायिक कृषकलाई सहुलियत दरमा ऋण प्रदान गर्ने भनिए पनि दमौलीस्थित वाणिज्य बैंकमा आवश्यक कागजपत्र पेश गरेको तीन महीना बितिसक्दा पनि खासै चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो ।
वडामा उद्योग फार्म सञ्चालन हुँदा गाउँमा रहेका बेरोजगारीलाई रोजगारीको सिर्जना हुनुका साथै आर्थिक उन्नन्तिमा टेवा पुग्ने विश्वास लिइएको व्यास–१३ का वडाध्यक्ष लेखबहादुर रानाले बताउनुभयो ।
‘फार्मस्टे’को व्यवस्था
फार्ममा आउने व्यक्ति तथा समूहका लागि घरबासजस्तै ‘फार्मस्टे’को व्यवस्था गरिने भएको छ । फार्ममा आएका मानिसका लागि बस्ने र खाने व्यवस्था मिलाइने गरी काम अघि बढाइएको छ । आन्तरिक एवं बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले पारिवारिक वातावरणमा फार्मस्टेको व्यवस्था गर्न लागिएको अर्का सञ्चालक ढकालले बताउनुभयो ।
उक्त फार्मलाई कृषि, शिक्षा र कृषि पर्यटन क्षेत्र बनाउने लक्ष्य राखिएको छ । सिटीभिटीबाट मान्यता प्राप्त लिई कृषि शिक्षा र कृषिको प्रयोगशालास्थलका रुपमा विकास गर्ने योजनासहित फार्म सञ्चालन गरिएको सञ्चालक ढकालले बताउनुभयो ।
रैथाने गाई सङ्कलन तथा संरक्षण
उक्त फार्ममा स्थानीय जातका गाई सङ्कलन गरी संरक्षण गरिने भएको छ । गाईको गहुँत सङ्कलन गरी प्रशोधिनमार्फत औषधिका रुपमा विकास गर्ने, पक्षीको रुपमा स्थानीय जातका कुखुरापालन गर्ने, फलफूल खेतीमा कागती, तरकारी खेतीमा मौसमी तथा बेमौसमी अग्र्यानिक तरकारी उत्पादन गर्ने, मौरी र माछालगायतका व्यावसायिकपालन गर्ने लक्ष्य रहेको सञ्चालकद्वयले बताउनुभयो ।
–सानेबहादुर नेपाली