काठमाडौँ, यस वर्षको साउन महिना शुरु भएसँगै नेपाली हिन्दू नारीले विशेष गरेर साउनलाई हर्षोल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै पनि बढ्दो देखिन्छ । हातमा मेहन्दी लगाउने अनि हरियो– पहेँलो– रातो– नीलो रङका चुरा लगाई पहेँलो पोतेसहित भक्तिपूर्वक पूजापाठमा सक्रिय रहने हिन्दू महिलाको हुल सानो–सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लगाएको शहर बजार र मन्दिर वरपर देखिन्छ ।
विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्छ रे भन्ने जनविश्वास पनि रहेकाे छ। अनि अविवाहिता महिलाले लगाए मनले चिताएको पाइने लोभले यो फेसन छपिल्लाे केही समययता झन् बढ्दै गएको पाइन्छ ।
एकातिर धर्म संस्कृति होला भने अर्कोतिर यो फेसनजस्तै पनि बन्दै गएको छ । हरियो चुरासँग श्रीमानकाे स्वास्थ्यको के र कुन आधारमा सम्बन्ध छ भन्ने कुरा खासै जानकारी नभए पनि हरियाे पहेँलाे चुरा, पहिरन र मेहन्दी लगाउने गरेकाे नयाँ पुस्ताका युवतीहरू बताउँछन् ।
साउन महिना प्रकृतिक रूपले नै हरियो हुने भएकाले नारीहरूले यस्तै खालको रङको समायोजन गर्दा तादाम्य मिलेको देखिन्छ । हरियो चुरा, पोते, मेहन्दी लगाउने कहीँ कतै शास्त्रीय मान्यता नभेटिए पनि पछिल्लो समयमा यसको चलन बढ्दै गएको छ । अथवा यसले एउटा फेसनको रूपमा हामी बीचमा गतिलै रूपले आफ्नो उपस्थिति देखाएको छ । यो महिनालाई शिवजीको महिना भनेर पूजाआजा गरिन्छ । यो एउटा आस्था पनि हो । साेमबार बर्त बस्ने प्रचलन पनि छ । धार्मिक विश्वास एकातिर छ भने अर्काे तिर नयाँ परिबेश र नाैलाे शैली फेसन बन्दै गएकाे छ ।
पहिले पहिले गाउँघरमा तिउरी लगाउने चलन थियाे । बढ्दाे सहरीकरण र प्रविधि तथा भारतीय प्रभाबले मेहेन्दी लगाउने चलन पनि बढेकाे छ । साउनमा मात्रै हाेइन अन्य विभिन्न अबसरमा पनि मेहेन्दी लगाउने प्रचलन बढेकाे छ । अरेबिक तथा हिन्दु परम्पराले नेपालमा पनि बिस्तारै रवाफ जमाउँदै गएकाे छ ।
केही मेहेन्दीका डिजाइन ।