कास्की, समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट देशको अग्रगमनको नेतृत्व सम्भव नभएको बताउनुभएको छ ।
सङ्घीय समाजवादी फोरम र नयाँशक्ति पार्टी नेपालको प्रदेश समिति समायोजन घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा नेपाली काङ्ग्रेस लगायतका पार्टीबाट देशको अग्रगमन, सुशासन र दिगो विकास नहुने भएकाले समुन्नत र सङ्घीय समाजवादको वैचारिक आधारमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी गठन गरिएको बताउनुभयो ।
फोरम र नयाँ शक्तिबीचको एकता केवल पार्टी एकता मात्र नभएको भन्दै डा भट्टराईले भन्नुभयो, “हामीहरुबीचको एकता पार्टी एकता मात्र होइन, सम्पूर्ण लोकतन्त्र, अग्रगति, शान्ति, समावेशीता, समाजवाद र धर्मनिरपेक्षताको मान्यताप्रति प्रतिबद्ध जनतालाई सङ्गठित गरेर देशलाई आगामी ५० वर्षसम्म नेतृत्व गर्ने र विश्वसामु नेपाललाई समुन्नत रुपमा लैजाने गरी एकताको प्रस्थान विन्दु हो ।”
पार्टीका उपाध्यक्ष हेमराज राईले बहुजातीय र बहुभाषिक चरित्र भएको देशमा पहिचानका आधारमा राज्यको पुनः संरचना हुनुपर्ने बताउनुभयो । कार्यक्रममा समाजवादी पार्टीको ५३ सदस्यीय गण्डकी प्रदेश कमिटी घोषणा गरिएको थियो । पार्टीको प्रदेश समितिको अध्यक्षमा मोति रिजाल, उपाध्यक्षमा दीपक तामाङ, गुणाखर बस्याल, हेमबहादुर थापा, रमेश पोखरेल र काशीमाया गुरुङ हुनुहुन्छ । रासस