चैनपुर, बझाङ जिल्लामा हुने सबैखाले महिला हिंसा न्यूनीकरणका लागि पत्रकार सञ्जाल गठन गरिएको छ । महिला सञ्चारिका समूह नेपाल र युनाइटेड मिशन टु नेपाल बझाङको आयोजनामा गठित लैङ्गिक हिंसा न्यूनीकरणको जिल्ला संयोजकमा पत्रकार डिबी विष्ट र सात स्थानीय सामुदायिक रेडियोका प्रतिनिधि र पाँच अन्य राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारको संयुक्त १३ सदस्यीय कमिटी गठन गरिएको हो ।
बझाङ विकट र पीछडिएको जिल्ला हो । यहाँका महिला अधिकांश ग्रामीण भेगमा बस्ने भएकाले उनीहरुको पीडा सञ्चारमाध्यम र प्रहरी प्रशासन कार्यालयमा पुग्दैन । उनीहरुको पहुँच राज्यसम्म पु¥याउन र लैङ्गिक हिंसा न्यूनीकरण गर्न पत्रकारको सञ्जाल गठन गरिएको सञ्चारिका समूह नेपालकी अध्यक्ष नितु पण्डितले बताउनुभयो । बझाङमा महिला हिंसाका घटना ६६ प्रतिशत हुने युनाइडेट मिशन टु नेपालको एक अध्ययनले देखाएको छ । रासस