कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट विचार र सिद्धान्तलाई आत्मसात् गर्ने पार्टीका कार्यकर्ताहरु उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७० औँ स्थापना दिवस तथा १४९ औँ लेनिन जयन्तीका अवसरमा नेकपा कास्कीले आज आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले पार्टी कार्यकर्ताले अलि बढी मेहनत र श्रम गरी उत्पादक सामथ्र्य र शक्ति बढाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यदि हामीले अहिलेको अवस्थामा देशभित्र उत्पादन बढाउनतर्फ लागेनौँ भने समृद्धि आउँदैन, रमाइलो हेरेरमात्र सम्भव छैन, उत्पादक शक्ति र सामथ्र्य बढाउँदै समृद्धिमा योगदान गरौँ ।”
पार्टीका प्रदेश इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले विचार र सिद्धान्तका आधारमा मात्र पार्टीलाई अघि बढाइनुपर्नेमा जोड दिँदै विगतका नकारात्मक र सकारात्मक दुवैको समीक्षा गरेर पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो ।
“सरकारले कामको गति बढाएको छ”, उहाँले भन्नुभयो, “तत्काल परिणाम नदेखिए पनि केही समयमै यसको अनुभूति हुने भएकाले पार्टीका नेता कार्यकर्ताले पनि सोही कुरा बुझेर सरकारका कामका बारेमा जनतालाई बुझाउन सक्नुपर्दछ ।”
प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री हीतराज पाण्डेले कम्युनिष्ट विचारमा प्रतिबद्ध कार्यकर्ताले सर्वहारा वर्गका अग्रज नेता लेनिनको विचार र कार्यनीतिलाई अँगाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टीका कास्की अध्यक्ष कृष्ण थापा तथा सचिव बखानसिंह गुरुङले पार्टी कामलाई अब व्यवस्थितरुपमा जनतासमक्ष लगिने बताउनुभयो । रासस