परशुरामधाम, मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात् मारुनी नाच डडेल्धुरामा लोप हुने अवस्थामा छ । समुदायका न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै मारुनी नाच नचाउने गरिन्छ । मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुर्सुङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन् । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुर्सुङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ । पुर्सुङ्गे एकपछि अर्को गर्दै फेरिन सक्छ । गायकमा एक गुरु हुन्छन्, जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ । मारुनी नाचको मुखियालाई रौरा भनिन्छ ।
मादले कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छ । मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिँगारपटार गरी महिलाको कपडा एवम् गहना लगाइन्छ । मारुनी मादलेको अघि र पछि घुमेर नाच्छन् । मारुनी नाचमा विशेषगरी पुरुषले गीत गाउने, नाच्ने र मादल बजाउने गरे तापनि महिलाले नाचसम्बन्धी अन्य व्यवस्थापकीय कार्य गर्छन् ।
मारुनी नाच नेपालको परम्परागत नाच हो । पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाई मादलको तालमा पुराना पौराणिक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ र लिम्बू जातिको मुख्य संस्कृति पनि हो ।
मादलका तालमा नाचिने मारुनी नाच जिल्लामा लोपोन्मुख अवस्थामा छ । डडेल्धुराको आलीताल गाउँपालिकाको वडा नं ८ मा रहेको बस्ती डोलामा यो नाच अहिले पनि देख्न पाइन्छ । नयाँ पुस्ताले यसलाई बिर्सिरहेको प्रति यहाँका बुद्धिजीवीले चिन्ता व्यक्त गरेका छन् । “बूढापाकासँगै मारुनी पनि जान लागेको छ, यसको संरक्षणका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले पहल गर्नुपर्छ”, स्थानीयवासी वृद्ध कर्णबहादुर थापा मगरले बताउनुभयो ।
पहिले र अहिलेको मारुनी नाचमा भिन्नता आएकामा पनि यहाँका युवा पुस्ता चिन्तित छ । बूढापाकाबाट सिकिएको परम्परालाई जोगाउन सरकार तथा सरोकार पक्षको दायित्व रहेको उनीहरुको भनाइ छ । मगर समुदायमा मारुनी नाच लोप भइनसकेको तर प्रायः लोप हुने अवस्थामा पुगेको स्थानीयवासी युवक लक्ष्मण डाला मगरले बताउनुभयो । पहिले मारुनी नाचमा दश÷बाह्र मादल, चार÷पाँच झ्याली, दश÷बाह्र मुरली, बीस÷पच्चीस जना मुरसिङा बज्दा तथा झ्याम झ्याम गरेर आलिताल उपत्यका थर्कने गरेकामा अहिलेका युवाहरु कलासंस्कृति जगेर्ना गर्नुभन्दा पनि अन्यत्रै लागेकाले ती सबै लोप हुने अवस्थामा पुगेको गाला मगरले गुनासो गर्नुभयो ।
गाउँपालिकाको डोला गाउँमा वर्षौँपछि नाचिएको मारुनी नाच लोप हुने अवस्थामा पुगेको थियो । स्थानीय सरकार आइसकेपछि गाँउपालिकाको आयोजनामा डोला गाउँमा मारुनी नाच आयोजना भएको छ । मारुनी नाचको परम्परालाई कायमै राखी लोप हुनबाट जोगाउनका लागि गाउँपालिकाले योजना ल्याई पहल गर्र्ने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो । समाजको पहिचान गराउने परम्पराको जगेर्नाका लागि वडा कार्यालयबाट पहल भइरहेको आलिताल – ८ का वडाध्यक्ष गाणेशबहादुर थापा मगरले बताउनुभयो । “पहिचानसँग जोडिएको रीति संस्कृतिलाई संरक्षण गरी लोप हुनबाट जोगाउनका लागि युवाहरु अग्रसर हुनुपर्छ” वडाध्यक्ष मगरले बताउनुभयो ।
–भूपेन्द्रसिंह विष्ट