काठमाडौँ । संकटा क्लब सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ। बिहीबार आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई सडन डेथमा ४-३ ले पछि पार्दै संकटाले सभापति कप फुटबलको उपाधि जित्न सफल भएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। टाइब्रेकरमा ३-३ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो।
पेनाल्टीमा संकटाका लागि लछ्छु थापा, साम कार्लस, दीप कार्की, सुनिल खड्काको प्रहार गोलमा परिणत हुँदा राम थापा र रोशन पहारीको प्रहार बागमतीका विकेश कुथुले बचाएका थिए।
बागमतीका लागि नवीन लामा, फोडे फोफाना, सेनेगलाइज एलेक्सले गोल गर्दा कुल्दीप कार्की र गौरव श्रेष्ठको प्रहार दीपले बचाएका थिए। रजत तिवारीको प्रहार आकासिएको थियो।
जितसँगै बागमतीले ट्रफीसहित नगद २६ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको संकटाले १३ लाख रूपैयाँ पाएको छ ।