वीरगञ्ज, लामो समयदेखि शरणर्थी जीवन बिताइरहनुभएका वीरगञ्ज महानगरपालिका–१२ मुरली नयाँ टोलका विकासकुमार सर्राफको जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मका आधारमा नेपाली नागरिकता पाएपछि खुशीको सीमा रहेन । सर्राफसँगै अनुकुमारी सर्राफ र महम्मद शेख अरमान आलमसमेतले जन्मका आधारमा नागरिकता प्राप्त गर्नुभएको छ । उहाँहरुका बुबाले विसं २०६३ मा जन्मका आधारमा नागरिकता पाए पनि जटिलताका कारण उनीहरुका सन्तान भने जन्मका आधारबाट नागरिकता पाउनबाट वञ्चित थिए ।
मन्त्रिपरिषद्को विसं २०७० चैत २६ गतेको निर्णयले जन्मका आधारमा नागरिकता दिनमा रोक लगाएपछि त्यसविरुद्ध पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि संविधानले दिएको अधिकार अहिले आएर कार्यान्वयनमा आएको छ । तिनीहरुलाई नयाँ व्यवस्थानुसार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई तथा सांसद यादवले संयुक्त रुपमा नागरिकता प्रदान गरी जन्मका आधारमा नागरिकता दिने अभियानको शुरुआत गर्नुभयो ।
सङ्घीय सरकारले फरक फरक निर्णय गर्दै आएपछि विसं २०६३ देखि जन्मका आधारमा नागरिकता लिने नेपालीको सन्तान नागरिकता प्राप्तिबाट वञ्चित हँुदै आएका थिए । सांसद यादवले अदालतमा रिट निवेदन दायर गरेपछि संविधानले दिएको अधिकार कार्यान्वयन भई जन्मका आधारमा नागरिकता लिनबाट वञ्चित रहेका नेपाली नागरिकको सन्तानले सो आधारमा नागरिकता पाउने बाटो खुला भएको छ । रासस