पोखरा, अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस । संसारभर महिला अधिकारका आवाज उठाउँदै मनाइएको छ । नेपालमा पनि दिवसका अवसरमा पदयात्रार्, याली, गोष्ठी र अन्तर्रा्ष्ट्रिय कार्यक्रम गरिएका छन् । तर दिवस थाहै नपाउने र यस्ता दिवसले नछुने धेरै श्रमिक महिला पनि छन् । पोखराको नारी जागरण अभियानले भने श्रमिक महिलाहरुसंगै ‘लैङ्गिक समानताका लागि समान सोच र व्यबहार समृद्धिको आधार’ भन्ने मुलनाराका साथ १०९ औ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो ।
पोखराको रामघाटमा गिटी बालुवा चालेर दैनिकी चलाउने श्रमिक महिलाहरुसंग नै बसेर यो दिवस मनाइएको हो । अभियानका संयोजक अञ्जु केसीका अनुसार विभिन्न संघसस्थाहरुले होटल तथा रेष्टुरेण्टहरुमा महिला दिवस मनाईरहँदा आफुहरुले रामघाटमा गिटी बालुवा चालेरै आफ्नो दैनिकी चलाइरहेका महिलाहरुलाई लक्षित दिवस मनाएको बताईन् ।
रामघाटमा काम गर्ने महिला श्रमिकहरु ५० जनालाई डोको र नाम्लो वितरण गर्नुका साथै दुइ जना जेष्ठ महिला सदस्यहरु लाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ७८ वर्षिया दुत कुमारी परियार र ७५ वर्षिया दिवा परियार छन् सम्मानितहरुलाई गण्डकी प्रदेश सांसद प्रभा कोइराला र अभियानका अभियन्ताहरुले दोसल्ला ओढाई सम्मान गरेका थिए । उक्त अवसरमा गण्डकी प्रदेशका सांसद कोइरालाले महिला दिदीबहिनी, त्यसमा पनि खोलाका किनारमा ढुंगा बालुवासंग जुध्दै आफ्नो जिन्दगी चलाउनु निकै कठिन काम भएको बताउँदै महिला दिदी बहिनीहरुलाई सीपमुलक काम गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड दिईन् ।
महिला दिदी बहिनीहरु शिक्षाको पहुँचबाट टाढा हुन पुग्दा निकै कठिन जीवन यापन गर्न बाध्य हुनुपरेको बताउँदै आफ्ना सन्ततिहरुलाई शिक्षा दिन तर्फ समेत आग्रह गरिन् । साथै हिजोका दिनमा पितृसत्ताले गर्दा महिला कमजोर र पुरूष बलियो हुने दिन आएपनि अब त्यस्तो नहुने उनले बताइन् । अबको महिला आन्दोलनको दिशा भनेको सशक्तिकरणकै भएको भन्दै उहाँले हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी दाबेदारी प्रस्तुत गर्नुपर्ने बताइन् ।
रामघाट मजदुर महिला संघकी अध्यक्ष मनमाया गुरुङले पोखरामा अहिले सम्म कुनै पनि संघ संस्थाले आफूहरुको बारेका कुनै चासो नदिएको र आफुहरुलाई महिला दिवसको बारेमा केही थाहा नभएको अवस्थामा नारी जागरण अभियान पोखराले गिटी बालुवा संकलन गर्ने आफुहरुको बारेमा चासो लिएर डोको नाम्लो सहयोग गरेकोमा आफुहरु निकै खुसी भएको बताइन् । ढुंगा बालुवा गिटीसंग जुध्दै दैनिकी गुजार्न निकै कठिन परेको भन्दै जिवनयापनका लागि आफूहरुको बाध्यता भएको बताइन् ।
कार्यक्रममा अभियन्ताहरु सत्य खनाल, सरु अधिकारी लगायतले बोलेका थिए । नारी जागरण अभियान पोखराका अभियन्ता यशोदा भट्टराइको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कमला पहारी र कार्यक्रमको सञ्चालन लक्ष्मी अधिकारीले गरेकी थिइन् । पोखराको रामघाट किनारमा दैनिक १ सय ७० जना महिलाहरुले दैनिक गिटी बालुवा संकलन गर्ने काम गर्दै आइरहेका छन् ।