संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकार जनअपेक्षा अनुरुपको काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पोखरा महागरपालिका–२१ कृस्तिस्थित भविष्य माविको ६६औँ वार्षिकोत्सव, सम्मान, पुरस्कार वितरण तथा अभिभावक दिवसको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार मुलुकमा सुशासन कायम गरी आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउनुभयो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उहाँको भनाइ थियो । असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीलाई अग्रसर हुन मन्त्री अधिकारीले सुझाव दिनुभयो ।
“राष्ट्र निर्माणका लागि उच्च भावनाका साथ अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ ।” बुबा र आफूले पनि यस विद्यालयमा विद्यार्थीलाई पढाएकाले भावनात्मक सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “विद्यालयको विज्ञान प्रयोगशाला निर्माणका लागि आवश्यक सहयोग गर्नेछु ।”
क्रमिकरुपमा वृद्धभत्तामा वृद्धि गर्दै पाँच वर्षभित्र रु पाँच हजार पु¥याउन सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री अधिकारीले यसअघि मुलुकमा १३ विमानस्थल सञ्चालनमा रहेकामा आपूmले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हालसम्म २७ विमानस्थल सञ्चालन भएको र सात निर्माण तथा मर्मतका क्रममा रहेको जानकारी दिनुभयो । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा ६ महीनाअघि नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लुम्बिनीस्थित गौतम बुद्ध विमानस्थल निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिनुभयो ।
विद्यालयका प्रथम प्रधानाध्यापक ९८ वर्षीय बाबुराम रेग्मीले खरको छानाबाट शुभारम्भ भएको विगतका आरोह–अवरोहबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा मन्त्री अधिकारीले अक्षयकोष दातालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नाका साथै विद्यालयद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो ।