पोखरा, गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनमा प्रदेश सरकारको बजेट कार्यान्वयनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
बजेट कार्यान्वयन प्रभावकारी बन्न नसकेको बताउँदै सभामा विभिन्न दल सम्बद्ध प्रदेशसभा सदस्यले प्रदेश सरकारको भूमिकासमेत प्रभावकारी बन्न नसकेकोमा गुनासो गरेका छन् । जनअपेक्षानुसार विकास निर्माणका काम अघि बढ्न नसकेको भन्दै प्रदेशसभा सदस्यले जनअपेक्षा अनुरुप काम गर्नुपर्नेमा जोड दिएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट मायानाथ अधिकारीले नयाँ संरचना एवं ऐन कानूनको निर्माणलगायतका कारणले बजेट कार्यान्वयन प्रभावकारी बन्न नसकेको बताउनुभयो । अधिकारको बाँडफाँडलगायत विषय अझै टुङ्गोेमा नपुगेको बताउँदै उहाँले संविधानले दिएअनुसार अधिकार विभाजन गरेर अघि बढ्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बजेट कार्यान्वयन हुन नसकेको बताउँदै बजेट नै खर्च हुन नसक्दा विकास अघि बढ्न नसक्ने उल्लेख गर्नुभयो । बजेट प्रस्तुत हुने क्रममा नै महत्वाकाक्षी भएको आवाज प्रतिपक्षबाट उठाइएको स्मरण गराउँदै उहाँले समृद्धि र विकासका लागि आफूहरू सधै सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चातर्फबाट प्रदेशसभा सदस्य कृष्ण थापाले जनताले घर घरमा सिँहदरबारको अपेक्षा गरे पनि सेवा सुविधा पाउन झन् झन् कठिनता भोग्ने गरेको बताउँदैे व्यवहारमा लागू हुने गरी अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो । नयाँ शक्ति पार्टीका तर्फबाट हरिशरण आचार्यले विकासका लागि सत्तापक्ष, प्रतिपक्ष नभनी अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । रासस