काठमाडौं, अधिवक्ता डा.रुद्र शर्माद्धारा लिखित ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ नामक पुस्तक सोमबार विमोचन गरेका छन् ।
मुलुकमा संघीयता लागू भएपछि सोसम्बन्धमा विवादमा आएका विषयलाई ती देशहरुमा के कसरी समाधान गर्ने प्रावधान छ भन्ने बारे पुस्तकमा समावेश गरिएको छ । पुस्तकका लेखक डा. रुद्र शर्माले ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ नामक पुस्तक संघीयताको समर्थन र विरोध गर्ने दुबैलाई उपयोगी हुने बताए ।
अंग्रेजी भाषाको यो पुस्तकलाई सात भागमा विभाजन गरिएको छ । पहिलो भागमा पुस्तकमा के कति विषयहरु समावेश गरिएको छ, यसको क्षेत्र कति छ र केन्द्रीय बैंकले दिएको निर्देशनलाई समावेश गरिएको छ । यसैगरी सोही भागमा सो विषयमा अध्ययन गर्नुको कारण, अध्ययनले ओगटेको क्षेत्रको बारेमा पनि पाठकलाई जानकारी गराइएको छ ।
पुस्तकको दोस्रो भागमा सम्बन्धित क्षेत्रका प्रख्यात विद्धानहरुको संघीयताको विषयमा राखेका धारणा, सिद्धान्त, राष्ट्रिय र राष्ट्रियता तथा संघीयता बीचको सम्बन्धको बारेमा स्पष्ट पारिएको छ । संघीयता र यससँग जोडिएको जाती, रङ्गलगायतका विषयमा पनि सोही भागमा प्रकाश पारिएको छ । त्यस्तै विवाद समाधानका संयन्त्रहरुको बारेमा यस भागमा चर्चा गरिएको छ ।
अमेरिकामा संघीयताको उदय भएको विषयलाई पुस्तकको तेस्रो भागमा लेखकले समावेश गरेका छन् । के कसरी अमेरिकामा संघीयताको उदय भयो र यसले अन्य देशमा के कसरी प्रभाव पा¥यो भन्ने बारेमा लेखक डा. शर्माले स्पष्ट पारेका छन् । नेपालमा संघीयता विवादको बारेमा उत्पन्न भएको परिस्थिति, मानव अधिकार र संघीय विवादको बारेमा पनि लेखकले उल्लेख गरेका छन् ।
लेखकले भारत र अमेरिकामा संघीयताको विवादलाई समाधान गर्ने संयन्त्रको बारेमा तुलना गरेका छन् । लेखकले यस क्रममा भारत स्वतन्त्र हुनु अघि र पछि संघीयतामा देखिएको विवाद र यस्ता विवादहरु न्यायिक परीक्षण हुँदा सर्वोच्च अदालतले के कसरी समाधान गरेको छ भन्ने बारेमा उदाहरणसहित स्पष्ट पारेका छन् ।
पुस्तकको पाँचौ भागमा लेखकले संघीयताको विवादमा संविधान र कानूनमा उल्लेख भएका प्रावधानलाई चिरफार गर्ने कोशिस गरेका छन् । सो क्रममा उनले यससँग सम्बन्धित विषयलाई सर्वोच्च अदालतले के कसरी समाधान गरेको छ भन्ने बारेमा चर्चा गरेका छन् ।
छैठौं भागमा लेखकले नेपालमा संघीयता आउनुको कारण बारे खोतलेका छन् । उनले यसै भागमा विभिन्न देश तथा भागको संघीयताको मोडेलको चर्चा गरेका छन् । नेपाल, भारत, जापान, भुटान, सिक्किमको बारेमा उल्लेख गरेका छन् । सातौ भागमा उनले अनुसन्धान गरी निकालिएको निष्कर्षको बारेमा उल्लेख गरिएको छ ।
भारतको नयाँ दिल्लीमा रहेको एड्रोइट भन्ने संस्थाले प्रकाशित गरेको यो पुस्तकको मूल्य ३५ अमेरिकी डलर राखिएको छ भने भारतीय ६ सय ९९ रुपैयाँ रहेको छ ।