सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एशियाली विकास बैंक (एडिबी)को लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताउनुभएको छ ।
एशियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा वीरेन्द्रनगर, सुर्खेतमा सोमबार आयोजित ‘सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालसँगको छलफल तथा परामर्श’ कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतको जस्तो नभई हाल सरकारले लिएका प्राथमिकताका क्षेत्रमा लगानी हुनुपर्नेमा जोड दिनुभयो ।
“कर्णाली प्रदेशमा सडक, विद्युत्, उद्योग, पर्यटन र कृषि क्षेत्रका बृहत परियोजनामा लगानीको आवश्यकता छ”, उहाँले भन्नुभयो, “एशियाली विकास बैंकको आगामी रणनीति यसतर्फ केन्द्रित हुनुपर्छ ।” कार्यालयको कागजे कामले कर्णालीको विकास सम्भव नभएको उहाँको भनाइ थियो । “तपाईंहरुले देखिने गरी पूर्वाधारका क्षेत्रमा लगानी गरिदिनोस्, तत्काल सम्भव भएसम्म कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको बनाइदिनुस,” उहाँले भन्नुभयो ।
एशियाली विकास बैंकले नेपालमा ठूलो मात्रामा लगानी गरेको भए पनि त्यसको परिणाम नदेखिएको भन्दै उहाँले नेता र पहुँचको आधारमा टुुक्रे योजनामा गरिने लगानीले कर्णालीको समृद्धि नहुने तर्क राख्नुभयो । एउटा मात्रै भए पनि पूर्वाधारको क्षेत्रमा लगानी भएमात्र त्यसको परिणाम देखिने उहाँको भनाइ थियो । “कर्णालीको विकासका लागि द्रूतमार्ग अपरिहार्य छ,” उहाँले भन्नुभयो ।
कर्णालीको गरीबी र विकटता बेचेर व्यक्तिगत समृद्धि हासिल गर्ने प्रवृत्ति हावी भएकाले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई उहाँले आग्रह गर्नुभयो । प्रदेश सरकारको तर्फबाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शी कार्य गर्न आफू प्रतिबद्ध रहेको उहाँको धारणा थियो ।
एशियाली विकास बैंकका नेपालस्थित आवासीय निर्देशक मुख्तार हामुदखानोभले स्वागत गर्नुभएको कार्यक्रममा नेपालका लागि एशियाली विकास बैंकको प्रस्तावित राष्ट्रिय साझेदारी रणनीतिबारे प्रमुख अर्थशास्त्री शरद भण्डारीले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रदेश सरकारका प्रवक्ता एवं भूभि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, प्रदेशसभा सदस्य, प्रदेश सरकारका सचिव, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उपस्थिति थियो । रासस