फिदिम, विश्वका तीन दर्जन भन्दा बढी मुलुकले प्रयोगमा ल्याएको नागरिकको आधुनिक तथ्याङ्क राख्ने प्रणालीको नेपालमा सोमबारदेखि शुरुआत गरिएको छ । सबै नागरिकका जैविक र वैयक्तिक विवरण समावेश भएको बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ को सोमबारदेखि वितरण थालिएको हो । नेपाली नागरिकहरुका वैयक्तिक र जैविक विवरणहरुलाई केन्द्रीकृत रुपमा भण्डारण गरी सबै नागरिकहरुको परिचय खुल्ने र नदोहोरिने बहुउपयोगी राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्ट कार्डको रुपमा राष्ट्रिय परिचयपत्रको वितरण थालिएको हो ।
राष्ट्रिय परिचयपत्रका लागि ‘पाइलट प्रोजेक्ट’को रुपमा विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण थालिएको छ । फिदिम नगरपालिका वडा नं ४ शान्तिपुरकी १०१ वर्षीया वयोवृद्ध भगवतीदेवी भण्डारीबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य प्रारम्भ भएको हो । भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको औपचारिक रुपमा शुरुआत गर्नुभयो । गृहमन्त्री थापाले समेत भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गर्नुभएको छ । नेपालको संविधानले नै नेपाली नागरिकसँग नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र रहने परिकल्पना गरेको छ । नागरिकले सेवा माग गर्दा वा प्राप्त गर्दा नेपाल सरकारले कानूनको निर्माण गरी राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउने तयारीका साथ राष्ट्रिय परिचयपत्रको वितरण थालिएको हो ।
के हो राष्ट्रिय परिचयपत्र ?
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार विश्वका विभिन्न मुलुकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर प्रत्येक नागरिकलाई प्रदान गरिएको हुन्छ । यसरी प्रदान गरिएको परिचय नम्बरकै आधारमा समेत नागरिकलाई सेवा प्रवाह गर्ने सरकारी प्रणालीको विकास गर्ने लक्ष्य नेपाल सरकारले लिएको हो । भारतमा नागरिकलाई ‘आधार नम्बर’ प्रदान गर्ने गरिएको छ । यो नम्बर पाएका भारतीय नागरिकले यही नम्बरकै आधारमा सबै सरकारी निकायबाट सेवा प्राप्त गर्दछन् । यसरी नै सबै नेपाली नागरिकहरुका सबै विवरणहरु एकीकृत रुपमा समावेश भएको राष्ट्रिय परिचयपत्र तथा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराई सहज सरकारी सेवा प्रवाह गर्ने परिकल्पनाका साथ स्मार्ट कार्डको रुपमा राष्ट्रिय परिचयपत्रको विकास गरिएको हो । नागरिकका सबै विवरणहरु एकीकृत हुने हुँदा सरकारलाई आवश्यक परेको बेलामा नागरिकका सबै विवरण प्राप्त गर्न पनि राष्ट्रिय परिचयपत्रले मद्दत पु¥याउँछ ।
राष्ट्रिय परिचयपत्र बहुउपयोगी राष्ट्रिय पहिचानयुक्त स्मार्ट कार्ड हो । त्यसमा व्यक्तिको नाम, तस्वीर, दुबै हातका सबै औँलाहरुको औँठाछाप, उमेर, लिङ्ग, बाबु, आमा, हजुरबुवा, हजुरआमा, पति वा पत्नीको विवरण समावेश गरिन्छ । त्यसलाई मतदाता परिचयपत्र, व्यक्तिको राष्ट्रिय पहिचानपत्र, जग्गा जमीन र अन्य सम्पत्तिको अभिलेखका लागि बैंक तथा वित्तीय कारोबारको अभिलेखको रुपमा समेत प्रयोग गर्न सकिन्छ । यस्तो व्यवस्था भने नेपाल सरकारले क्रमशः गर्दै लैजाने जनाएको छ । परिचयपत्र यन्त्रले अध्ययन गर्नसक्ने गरी चिप्समा सबै विवरणहरु सङ्गृहित गरिन्छ । यसरी सङ्गृहित विवरण परिचयपत्र यन्त्र रहने सरकारी निकायबाट आवश्यक परेको समयमा परिमार्जनसमेत गर्न सकिन्छ । पाँचथरमा ५२ हजार ७०० नागरिकको विवरण सङ्कलन भइसकेको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र फिल्ड कार्यालयका अनुसार एक जना नागरिकको विवरण सङ्कलन गर्न १५ देखि २५ मिनेट समय लाग्दछ ।
राष्ट्रिय परिचयपत्रको उपयोगिता
राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रका अनुसार राष्ट्रिय परिचयपत्रलाई व्यक्तिको राष्ट्रिय पहिचानको प्रमाणपत्रका रुपमा, मतदाता परिचयपत्रका रुपमा, जग्गा जमीन र अन्य सम्पत्तिको अभिलेखका रुपमा, सामाजिक सुरक्षा कार्डका रुपमा, नेपाल सरकारको स्वामित्वमा रहेको निकाय वा संस्थाबाट प्रदान गरिने सेवा सुविधाका लागि राष्ट्रिय परिचयपत्र नम्बरलाई आबद्ध गरी सेवा तथा सुविधा उपलब्ध गराउन सकिनेछ । यस्तै, व्यक्तिका शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र जस्ता व्यक्तिगत विवरणहरुको अभिलेखको रुपमा समेत राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याइने सोच राखिएको छ ।
राष्ट्रिय परिचयपत्रको निर्माणले व्यक्तिको पहिचानसम्बन्धी समस्या हल हुनाका साथै सबै नागरिकको जैविक तथा व्यक्तिगत विवरणहरु सरकारसँग सुरक्षित हुने अवस्थाको निर्माण गर्नेछ । यस्तै, मुलुकको विकासका लागि यथार्थपरक योजना निर्माण गर्न, कार्यक्रम सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम गर्न राष्ट्रिय परिचयपत्रले सघाउ पु¥याउनेछ । दोहोरो वा नक्कली परिचयपत्र बनाई हुने गरेका आपराधिक कार्य राष्ट्रिय परिचयपत्रले धेरै हदसम्म न्यून गर्न सघाउ पु¥याउने विश्वास गरिएको छ । आगामी दिन मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कार्ड, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, जग्गा धनीपूर्जा जस्ता सरकारी कागजातहरुको सट्टामा एउटै कार्ड वा कार्ड नम्बरलाई प्रयोगमा ल्याउन सकिनेछ । कोही नदोहोरिने र कोही नछुट्ने गरी स्वच्छ, निष्पक्ष र पारदर्शी ढङ्गले समान रुपमा सेवा वितरण गरी सुशासनको प्रत्याभूति दिलाउनसमेत राष्ट्रिय परिचयपत्रले योगदान पु¥याउनेछ ।
अहिलेसम्म नेपाली नागरिकसम्बन्धी विवरणहरु सरकारी कागजातमै सीमित छ जसका कारण सरकार वा सुरक्षा निकायलाई आवश्यक परेको समयमा नागरिकसम्बन्धी विवरण प्राप्त गर्न कठिन छ । अपराधका घटना मौलाउनुमा नागरिकसम्बन्धी विवरणको अभाव पनि मुख्य कारण थियो । यस्तै, सरकारी कागजात किर्ते गर्न तथा दोहोरो प्रमाणपत्र लिनसमेत व्यक्तिलाई सहज थियो । तर, अब भने व्यक्तिको तस्वीर, औँठाछाप, हस्ताक्षर, आफन्तसमेतको विवरण रहेको राष्ट्रिय परिचयपत्रको विकास भएको छ । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्दा नागरिकताको सक्कलै प्रमाणपत्रका आधारमा प्रमाणीकरण अधिकृतले प्रमाणित गरेको विवरण मात्रै अनलाइन प्रणालीमा दर्ता गरिन्छ । अतः कुनै पनि व्यक्तिले आफ्नो गलत विवरण दर्ता गराउन सक्दैन । यस्तै, व्यक्तिका अन्य सम्पूर्ण सरकारी कागजात राष्ट्रिय परिचयपत्रमै समावेश हुने हुँदा व्यक्तिसम्बन्धी पूर्ण र आधुनिक विवरण तयार हुन्छ । यसबाट सरकारलाई नागरिकका बारेमा आधुनिक, भरपर्दो र विश्वासनीय सूचना प्राप्त गर्न सजिलो हुन्छ ।
दुई वर्षमा सबै जिल्लाबाट वितरण थालिने
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईका अनुसार सरकारले आगामी दुई वर्षभित्र देशका सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण थाल्ने तयारी गरेको छ । यस आर्थिक वर्षमा सात वटै प्रदेशका १५ वटा जिल्लाबाट वितरण प्रकृया अघि बढाइने छ । आगामी आर्थिक वर्षमा ३० जिल्लाबाट वितरण थाल्ने योजना रहे पनि त्यसलाई विस्तार गरेर बाँकी सबै जिल्लामा पु¥याउने लक्ष्य लिइएको गृह सचिव राई बताउनुहुन्छ ।
पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा गत जेठमा राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रको फिल्ड कार्यालय स्थापना भएको थियो । कार्यालय व्यवस्थापनपछि २० जना स्थानीय युवकलाई विवरण सङ्कलकको रुपमा छनोट गरी तालीम दिइएको थियो । यस्तै, उक्त कार्यमा खटिने प्रमाणीकरण अधिकृतहरुलाई समेत तालीम दिइएको थियो । तालीमपछि असार ५ गते १०१ वर्षीया वृद्ध भगवतीदेवी भण्डारीबाट विवरण सङ्कलनको कार्य थालिएको थियो । सोही दिन जिल्लाका विशिष्ट व्यक्तिहरुको समेत विवरण सङ्कलन गरिएको थियो ।
फिल्ड कार्यालयबाट शुरु भएको विवरण सङ्कलनको कार्य जिल्लाका सबै आठ वटै स्थानीय तहमा पुग्यो । एक वडामा एकदेखि तीन स्थानमा विवरण सङ्कलन स्थल कायम गरिएको थियो । प्रत्येक नागरिकले एक घण्टाभन्दा बढी पैदल यात्रा गर्न नपर्ने गरी विवरण सङ्कलन स्थल तय गर्ने कार्यालयको नीति थियो जसअनुसार एक वडामा विवरण सङ्कलन कार्य सम्पन्न गर्न टोलीलाई ५ देखि ८ दिनसम्म लागेको थियो । असारदेखि मङ्सिरसम्ममा पाँचथरमा झण्डै ५२ हजार नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण प्रदान गरेका छन् । मिक्लाजुङ र तुम्बेवाका सबै वडामा विवरण सङ्कलन शिविर पुगिसकेको छैन । विवरण सङ्कलन टोलीमा विवरण सङ्कलक, प्रमाणीकरण अधिकृत, कार्यालय सहयोगी र सुरक्षाकर्मीहरु छन् । टोलीसँग क्यामेरा, प्रिन्टर, स्क्यानर, फोटोकपी तथा प्रिन्टिङ मेसिन, जेनेरेटरलगायत आवश्यक उपकरण र सामग्रीहरु छन् ।
अब राष्ट्रिय परिचयपत्र वितरणको कार्य पनि विवरण सङ्कलनजस्तै सबै वडामा पुगेर सम्पन्न गरिनेछ । जिल्लामा रहेको फिल्ड कार्यालयले भने सधैँ विवरण सङ्कलन र वितरणको कार्य गर्नेछ । गत कात्तिक १५ गतेदेखि राष्ट्रिय परिचयपत्र छपाइको कार्य शुरु भएको थियो । राष्ट्रिय परिचयपत्र वितरणको सुरुआत गर्न एशियाली विकास बैंकले सहयोग गरेको थियो तर, अब भने नेपाल सरकारले नै बजेटको तर्जुमा गरेर राष्ट्रिय परिचयपत्र वितरण गर्नेछ । एउटा परिचयपत्रको लागत चार अमेरिकी डलर अर्थात रु ४०० पर्न आउँछ ।
–रविन्द्र काफ्ले