कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा जाडो छल्न आगन्तुक चरा आउने क्रम शुरु भएको छ । सिमसार क्षेत्रमा चराको चहलपहल बढ्न थालेको छ ।
उत्तरी ध्रुवमा चिसो बढ्न थालेपछि साइबेरियालगायतका क्षेत्रबाट चिसो छल्न सिमसार क्षेत्रमा विभिन्न प्रजातिका चरा पुग्ने गरेका छन् । हिउँदको बेला साइबेरिया क्षेत्रमा चिसो अत्यधिक हुने र आहाराको कमी हुने भएकाले जाडो छल्न र आहाराको खोजीसँगै यसतर्फ चरा आउने गरेका हुन् ।
निकुञ्जका रानीताल, सलगौडीताल, कालीकिचताल, चौधर नदी, महाकाली नदी, शिकारी ताल र तारा ताल क्षेत्रमा साइबेरियाली चराको चहलपहलमा बढोत्तरी भएको निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले बताउनुभयो ।
प्रतिवर्ष कात्तिक महीना देखिनै साइबेरियाली चरा यहाँ आउने क्रम शुरु हुन्छ । उहाँले भन्नुभयो, “सिमसार क्षेत्रमा बच्चा कोरलेर आगन्तुक चरा चैतदेखि जेठ महीनासम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् ।” साइबेरियाली चरा माघ र फागुन महीनामा झनै बढी यहाँका सिमसार क्षेत्रमा पुग्ने गरेको उहाँको भनाइ छ । सिमसार क्षेत्रमा चराको चहलपहल हेर्न निकुञ्जमा पर्यटकको आवागमनमा वृद्धि हुने गरेको छ । चौधरीका अनुसार कात्तिक महीनामा मात्रै निकुञ्जमा ६०० पर्यटक आएका छन् । उहाँले भन्नुभयो, “अझै बढ्ने अनुमान गरेका छौँ ।”
निकुञ्जमा रहेका प्राकृतिक तालको व्यवस्थापन र कृत्रिम पोखरी निर्माणले चरा आउने क्रममा विगतको तुलनामा बढोत्तरी भएको उहाँले बताउनुभयो । एक तालमा ३० देखि १५० प्रजातिका चरा एकसाथ हेर्न सकिने भएकाले धेरै पर्यटक यसबेला पुग्ने गर्छन् । उहाँले भन्नुभयो, “यो चरा हेर्नेका लागि गन्तव्य नै हो ।” गत वर्ष निकुञ्जमा विशेषज्ञको सहयोगमा जलपक्षी गणनामा ५८ प्रजातिका तीन हजार ६४१ वटा आगन्तुक जलपक्षी फेला परेका थिए ।
निकुञ्जमा १९ प्रजातिका चरा रहेका छन् । निकुञ्जमा रहेका ४२३ प्रजातिका चरामध्ये विश्वका दुर्लभ सूचीका १९ प्रजातिका चरा छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये शुक्लाफाँटामा ४२४ प्रजातिका चरा पाइने गरेका छन् ।
गिद्धका चार र मयूरका दुई प्रजातिसँगै सिम तित्रा, सारस, भुँडीफोर गरुड, बोक्सी चील, जीवहारा महाचील, लघु महाचील, सानो बौंडाइ, राजलाहाँचे, बङ्गाले बगेडी, सुनौलो तोपचरा, नर्कट भ्याकुर, काँसे घाँसेचरी र सेतो कष्ठे घिप्सी यहाँ संरक्षित छन । चरासँगै निकुञ्ज बाह्रसिङ्गा र पाटेबाघका लागि पनि प्रसिद्ध रहेको छ । निकुञ्जको क्षेत्रफल ३०५ वर्ग किलोमिटर रहेको छ । रासस