प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बिजौरीस्थित मध्यपश्चिम आयुर्वेदिक चिकित्सालयलाई प्रदेशस्तरीय आयुर्वेद अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।
धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अब क्षेत्रीय अस्पताल प्रदेशस्तरको अस्पताल बन्ने र यसको सेवा प्रभावकारी बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले आयुर्वेद क्षेत्रको विकासका लागि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको उल्लेख गर्दै रोग लाग्न नदिन तथा स्वस्थ हुनका लागि आयुर्वेद पद्धति प्रभावकारी रहेको धारणा व्यक्त गर्नुभयो ।
आयुर्वेदलाई परम्परागत उपचार पद्धतिमा नभएर आधुनिकतामा ल्याउनुपर्नेमा जोड दिदैं उहाँले यो वर्ष कानून निर्माणको वर्ष रहेको र अर्को वर्षदेखि विकास निर्माणले गति लिने बताउनुभयो ।
अस्पताल विकास तदर्थ समितिका अध्यक्ष विनोद गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, अस्पतालका निमित्त निर्देशक राम कामेश्वर ठाकुर लगायतले आयुर्वेद उपचार पद्धतिका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।(रासस)
























