प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताउनुभएको छ ।
त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले ‘बिआरआइका अवसर र नेपालमा यसको प्रभाव’का विषयमा आज यहाँ अयाोजित कार्यक्रममा उहाँले नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब सामाजिक रुपान्तरणको दिशामा सरकार अग्रसर रहेको बताउनुभयो । “दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
चीनका राष्ट्रपति सि चिनफिङले अघि बढाएको यो परियोजना महत्वकांक्षी भए पनि यसले विश्वको दुईतिहाइ जनसंख्यलाई जोड्ने उहाँको भनाइ छ । “बिआरईले नेपालको विकासलाई पनि अघि बढ्न सघाउनेछ”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसले नेपालको अर्थतन्त्रलाई बढोत्तरी गर्नेछ ।”
मुलुकको राजनीतिक रुपान्तरण ऐतिहासिक उपलब्धी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक आर्थिक रुपान्तरणको प्रारम्भ गर्न नेपाललाई उचित समय आएको बताउनुभयो । मुलुकको सामाजिक आर्थिक रुपान्तरण नै अहिलेको मुल मुद्दा भएको उहाँको भनाइ थियो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ हासिल गर्ने दीर्घकालीन उद्देश्यबाट सरकारको लक्ष्य दृष्टिकोण निर्देशित रहेको बताउँदै उहाँले समृद्ध नेपालको लक्ष्य हासिल गर्न कृषि क्षेत्रको आधुनिकीकरण गरी श्रम गर्न सक्ने जनशक्तिका लागि रोजगारीको समुचित अवसर प्रदान गर्न सरकार प्रयत्नशील छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा जलविद्युत्को ठूलो सम्भावना छ, सरकारले मानव संशाधान, पूर्वाधार र पर्यटनको विकासलाई प्रवद्र्धन गर्छ ।”
छिमेकी चीन र भारतले हासिल गरेका अभूतपूर्व आर्थिक विकासबाट नेपालले थुप्रै अवसर प्राप्त भएको विश्वास गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल दुई ठूला अर्थतन्त्र भएको मुलुकका बीचमा अवस्थित रहेको छ, नेपाल अब विकासका रुपमा पछि रहन सक्दैन, हामी विकासको भ¥याङ चढिसक्यौ, विकासको रफ्तार बढिसक्यो ।”
समृद्धिको मुल मार्ग सम्पर्क सञ्जाल रहेको उल्लेख गर्दै उहाँले सम्पर्क सञ्जालको पूर्वाधार विकासले मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्पर्क सञ्जालले व्यापार विस्तारमा व्यापक अवसर सिर्जना गर्छ, लगानी, पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्धमा मार्ग प्रशस्त गर्छ ।” यस्ता सहकार्यले रोजगारीको अवसर सिर्जना गर्न, बहुआयामिक आर्थिक अवसर प्रदान र उत्पादकत्व बढाउन मद्दत गर्ने उहाँको भनाइ थियो ।
लगानीको विस्तार गर्दै सम्पर्क सञ्जालको अभिवृद्धिका लागि बिआरआई अवधारणा सहयोगी र महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य प्राप्तिमा समेत सहयोग गर्ने उल्लेख गर्नुभयो ।
चीन र भारतजस्ता ठूला र आर्थिक शक्ति सम्पन्न देशको बीचमा रहेको नेपाल आफैमा गतिशिल पुल रहेको भन्दै प्रधानमन्त्रीले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिनुभयो । गत असारमा आफूले गरेको चीन भ्रमणका क्रममा समेत सम्पर्क सञ्जालको विस्तारलगायतका महत्वपूर्ण विषयमा चिनियाँ राष्ट्रपति सि र प्रधानमन्त्रीलगायतका शीर्ष नेतृत्वसँग छलफल गरेको भन्दै प्रधानमन्त्रीले केही वर्ष अगाडि सम्पन्न व्यापार तथा पारवहन सम्बन्धी द्विपक्षीय सम्झौता समेत कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।
––