धनगढी, प्रदेश नं ७ प्रदेशसभाको बैठकको विशेष समयमा बोल्ने अधिकांश सदस्यले कैलाली र कञ्चनपुरमा बलात्कारपछि भएका हत्याको घटनाका पीडित पक्षलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउन सभा र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उनीहरुले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सनी खुनाको मृत्यु भएको घटना दुःखद् भएको बताउनुभयो । बलात्कार र हत्या घटना भएको झण्डै एक महिनासम्म पनि दोषीलाई पक्राउ गर्न नसक्नुमा सरकारको कमजोरी रहेको आरोप पनि उनीहरुले लगाउनुभयो ।
उनीहरुले समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न नसकिए सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै जनताले प्रश्न उठाउन सक्नेतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
यसरी जोड दिइनेमा सदस्य कृष्णबहादुर चौधरी, डा रणबहादुर रावल र महेशदत्त जोशी हुनुहुन्छ ।
बैठकको विशेष समय र शून्य समयमा उठाइएका प्रश्नको जवाफ दिदैं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले अपराधीलाई दण्डित गर्न, पीडितलाई राहत दिन र शान्ति सुव्यवस्था कायम राख्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
मन्त्री शाहले कञ्चनपुरकी निर्मला पन्त र सनी खुना तथा गएको असारमा बलात्कारपछि हत्या गरिएकी कैलाली गौरीगङ्गा नगरपालिकाकी–२१ वर्षीया माया विकको परिवारलाई जनही रु पाँच लाख राहत दिने निर्णय प्रदेश सरकारले गरिसकेको जानकारी दिनुभयो ।
प्रदेशको कर तथा गैर कर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठायोस् भनी आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राख्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।
यसैगरी मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई सम्बन्धित समितिमा छलफलका लागि पठाइयोस् भनी मन्त्री बोहराले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । रासस