अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाखस्तानको तटीय सहर आक्टुमा भेला भएका छन् ।
सोभियत सङ्घ विघटन भएपछि सीमाको कानुनी वैधताका विषयमा दुई दशकभन्दा बढी समयदेखि रहेका पाँच विवाद यहाँ दिइएको छ ।
–विशाल भित्री सागर
क्यास्पियन सागर विश्वमै जमिनले घेरेको सबैभन्दा ठूलो जलक्षेत्र हो । करिब ७०,००० क्युबिक किलोमिटर पानी रहेको यो क्यास्पियन सागर उत्तर तथा बाल्टिक सागरभन्दा दुई गुना ठूलो छ । यस क्षेत्रका मुलुकहरुबीच क्यास्पियन सागर हो वा सरोवर हो भन्नेमा लामो विवाद छ, जसका कारण कानुनी विवाद खडा हुने गरेको छ ।
यो सागरबाट कुनै पनि नदी सुरु हुँदैनन् र यसलाई जमिनले घेरेको छ । त्यहीकारण यो सरोवर वा तालको रुपमा रहेको मान्न सकिन्छ । नयाँ मस्यौदा सम्झौतामा यसलाई सागर नै भनी परिभाषित गरिएको छ र रसियाले आफूसँग विशेष कानुनी हैसियत रहेको भनिरहेको छ ।
–ऊर्जाको भण्डार
क्यास्पियन सागरमाथि सबैको आँखा गाडिनुको अर्को प्रमुख कारण यहाँ रहेको अथाह ऊर्जा हो ।
अमेरिकी ऊर्जा सूचना प्रशासनको सन् २०१२ को पछिल्लो अनुमान अनुसार, यहाँ ४८ अर्ब ब्यारेल तेल र २९२ खर्ब क्युबिक फिट प्राकृतिक ग्यास छ । यो अथाह इन्धन क्यस्पियन सागर र त्यस वरपरको जमिनभित्र छ ।
क्यास्पियनको सबैभन्दा ठूलो तेल खानी, कजाखस्तानको काशागान,सँग १३ अर्ब ब्यारेल खनिज तेलको भण्डार छ । सन् २००० मा पत्ता लागेको यस भण्डारण यो देशकै आजसम्म पत्ता लागेको सबैभन्दा ठूलो तेल र ग्यास भण्डार हो ।
पानीभित्रको सतहबाट इन्धन उत्खनन् गर्नु र त्यसलाई बजारसम्म पु¥याउनु त्यति सहज छैन, र काशागान परियोजनाले समयमै उत्खनन गर्न नसक्दा “भिल्लको देशमा मणी” झैं सावित भएको छ ।
–सर्वाधिक महङ्गा माछा
क्यास्पियन सागरमा विश्वमै सबैभन्दा महङ्गा र स्वादिला माछाको भण्डार नै छ । यी माछाका भूरा सागरको दक्षिणतर्फ पाइन्छन् । तर वातावरणविदहरुले यहाँ अत्यधिक माछा मार्ने गर्दा माछाको प्रजाति नै नष्ट हुने खतरा औंल्याउन थालेका छन् । अबको सम्झौताले यी माछाको संरक्षणमा ठोस काम हुने उनीहरुको भनाइ छ ।
गिनिज वल्र्ड रेकर्डका अनुसार, इरानतर्फ यी माछाको मूल्य प्रति किलो २५,००० अमेरिकी डलरसम्म हुने गरेको छ ।
–सागरको तटीय व्यवस्थापन
क्यास्पियन सागरको वरिपरिको अव्यवस्थित परिस्थितिले पर्यटकलाई सबै मुलुकले आकर्षित गर्न सकेका छैनन् । केबल तुर्कमेनिस्तान र अजरबैजानका स्थानीयले मात्र तटीय लाभ लिइरहेका छन् । यी दुई मुलुकले क्यास्पियन पर्यटनका लागि लगानी बढाएका छन्, र यो स्थानीय तहमा मात्र केन्द्रित छ ।
तथापि, पौडी खेल्न तटीय इलाकाहरु कतिसम्म सुरक्षित गर्न सकिएला ? सागरको वरिपरिका धेरै ठाउँ प्रदूषित छन् र औद्योगिक प्रदूषण पनि बढ्दो छ । हालैका वर्षहरुमा, अजरबैजान र रसियाको डागेस्तान क्षेत्रका अधिकारीहरुले कतिपय बिचहरु पौडी खेल्न असुरक्षित रहेको घोषणा गरेका छन् ।
–नारनियासँगको सम्पर्क
बेलायती लेखक सी.एस. लेविसले बालबालिकाका लागि लेखिएको लोकप्रिय पुस्तक “क्रोनिकल्स अफ नारनिया”मा नाविक राजकुमार क्यास्पियनलाई एक पात्रका रुपमा उभ्याएका छन्, तर यसको सम्बन्ध प्रामाणिक भने छैन । तर पुस्तकले यस क्षेत्रका धेरै भाषा र संस्कृतिलाई जोडेको पाइन्छ । रासस/एएफपी