जनकपुरधाम, प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने बताउनुभएको छ ।
मधेशी पत्रकार समाजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मान र संसदीय पत्रकारिता तालीमको समापन समारोहमा उहाँले भन्नुभयो, “अनर्गल हल्लाका भरमा कसैको पनि चरित्र हत्या गर्नुहुँदैन ।”
जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले गत सोमबार समाजद्वारा आयोजित कार्यक्रममा प्रदेश नंं २ मा शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैभन्दा अधिक भ्रष्टाचार भइरहेको भनाइलाई लक्षित गरी मन्त्री साहले सो धारणा राख्नुभएको हो ।
उहाँले मन्त्रालयका कतिपय कर्मचारीले कुनै बेला गरेको क्रियाकलापका कारण सबैलाई सोही श्रेणीमा राख्न नहुने बताउँदै भ्रष्टाचार अन्त्यका लागि सबैको अग्रसरताको खाँचो छ भन्नुभयो ।
प्रदेशसभा सदस्य रामअशीष यादवले नेता शासक बन्न खोजेमा निरङ्कुशताले प्रश्रय पाउन सकिने प्रसङ्ग उल्लेख गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले पत्रकारलाई सम्मान र सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
वरिष्ठ पत्रकारद्वय राजेश्वर नेपाली र रामभरोस कापडीले विभेद, शोषण, दमन विरूद्धको आवाजलाई सशक्त बनाउने कार्यमा सबैको सहयोग हुनुपर्ने बताउँदै पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापनाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस