नेपाली पञ्चाङ्ग अनुसार आज, २०७५ साउन ११ गते आषाढ शुक्ल गुरू पूर्णिमा, उत्तराषाढाको अन्तिम एवं श्रवण नक्षत्रको पहिलो चरण, मकर राशिमा नेपाली समय शुक्रबारको राति १२ बजेर ९ मिनेट देखि प्रारम्भ भएर राति २ बजेर ८ मिनेटमा मध्य भई बिहान ४ बजेर ६ मिनेटमा समाप्त हुने गरी खग्रास (पूर्ण) चन्द्र ग्रहण लाग्नेछ ।
नेपाली पात्रो अनुसार यो ग्रहणको पूरा अवधि ३ घन्टा ५७ मिनेट हुनेछ । तर, नाशाको वेव साइटमा भने ग्रहण २ मिनेट कम हुने जनाइएको छ ।
सूतक शुरु भएपछि घरमा भएका अचार, दूध, दही आदि खाद्य पदार्थमा कुश, तुलसी वा दूबो राख्नुपर्छ । त्यसो गर्दा यिनीहरूलाई ग्रहणले दूषित गर्दैन । घरमा भएका सुक्खा पदार्थमा कुश राखिरहनु पर्दैन । सूतकको समयमा तथा ग्रहणका बेलामा दान र जप गरेको ठूलो पुण्य हुन्छ । पवित्र नदी तथा तलाउहरूमा स्नान गर्नुपर्छ । ग्रहण सकिएको भोलिपल्ट बिहान ब्राह्मणहरूलाई दान दिनुपर्छ ।
ग्रहणका बेला देवपूजा, मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ । तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ । ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ । ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ ।
स्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ । भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने विश्वास रहेको छ ।
छाँयाद्वारा सूर्य वा चन्द्रमाको मण्डललाई आवृत्त गर्ने, ढाक्ने, ग्रहण गर्ने स्थितिलाई ग्रहण भनिन्छ । सूर्य ग्रहणमा चन्द्रमा सूर्यको बिम्बलाई पूर्णतः वा अंशतः छेकिदिन्छ, जब कि चन्द्र ग्रहणमा चन्द्रमा स्वयं पृथ्वीको छायाँमा प्रवेश गर्छ । अतः सूर्य ग्रहणमा चन्द्रमालाई छादक र चन्द्र ग्रहणमा पृथ्वी छायाँलाई छादक भनिन्छ ।
सूर्य ग्रहणमा चन्द्रमाले सूर्यलाई ढाक्छ, यसका लागि सूर्य र चन्द्रको गुढयुति हुनु परमावश्यक हुन्छ र यो स्थिति मात्र औंशीको अन्तमा सम्भव हुन्छ । यसैगरी आफ्नो भ्रमणवृत्त वा विमण्डलमा गोचर गर्दै चन्द्रमा कहिले आकाशमा यस्तो स्थानमा आउँछ जहाँ त्यो पृथ्वीको छायाँमा प्रवेश गर्न सक्छ ।
पृथ्वीका साथ नै यसको छायाँ पनि आकाशमा त्यसैगरी भ्रमण गर्छ जसरी घाममा हामीसँग हाम्रो छायाँ रहन्छ । तर, छायाँको दिशा र स्थिति सूर्यको स्थितिका कारण फेरिरहन्छ ।